Logo

प्रदेश ३ को राजधानी भक्तपुर, ‘चाँगुनारायण प्रदेश’ हुनुपर्छ- कृष्णलाल भँडेल, प्रदेश सांसद 



काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेसका नवनिर्वाचित प्रदेशसभा सांसद कृष्णलाल भँडेलले आफू जनताको सेवक भएको र जनता भगवान भएको बताएका छन् । उनले प्रदेश ३ को नामाकरण र राजधानीबारे आफ्नो धारणा समेत ल्याइसकेका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
तपाईंले चुनाव कसरी जित्नुभयो, भावी योजना के छ ?
मैले भक्तपुरमा चुनाव जित्नुको मुख्य कारण मतदाता आदरणीय दाजुभाइ, दिदीबहिनीहरुको मन जित्न सफल भएको छु । त्यसपछि पार्टीका सबै साथीहरुको पूर्ण सहयोग रह्यो । राष्ट्रिय प्रजातन्त्र संयुक्तसँग पनि लोकतान्त्रिक गठबन्धन भयो । उहाँहरुबाट पनि ठूलो सहयोग रह्यो । त्यसकारण सफल भएँ ।
भक्तपुरवासीको धेरै समस्या छ, त्यसको समाधान कसरी गर्नुहुन्छ ?
यहाँ समस्याहरु धेरै छन् । त्यसको समाधान गर्नको लागि हिजो पनि लागेको थिएँ । अब त झन् मलाई जनताले जिम्मेवारी दिनुभएको छ । त्यसको लागि मेरो बलबुताले भ्याएसम्म लाग्नेछु । यहाँको जनताको सेवक बन्ने इच्छा हो मेरो ।
सबैले त्यसै भन्दा चुनाव जितेर गइसकेपछि केही पनि गर्दैनन् नि ?
यहाँलाई म निवेदन गर्दछु । हिजो पनि सधैंभरि जताको सुखदुःखमा लागेको भएरै मलाई विजयी बनाउनुभएको छ । अब झन् सबै कुरा छोडेर जनताको सेवक बन्न आएको छु । त्यसैले अब उहाँहरुको सेवा गर्दछु ।
बाटो, खानेपानीदेखि सबै ठाउँमा समस्या छ कसरी काम गर्नुहुन्छ ?
जहाँनेर समस्या छ, मेरो पहिलो मुद्दा नै त्यही हुनेछ । त्यो समाधानका लागि म हिजो पनि लागेको हुँ, भोलि पनि लाग्छु । अहिले त मलाई यहाँका जनताले थप जिम्मेवारी दिनुभएको छ । यहाँको बाटो, खानेपानीलगायतका समस्याको लागि समाधान गर्न दत्तचित्त भएर लाग्ने छु ।
तर जनताहरुले जनप्रतिनिधिहरु आफ्ना लागि मात्रै काम गर्दछन् भनिन्छ नि ?
त्यसरी म आफ्नो लागि केही काम गर्नेछैन । जनताको सुखदुःखको काम गर्ने छु । आफ्नो क्षेत्रका सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरुलाई यही विश्वास दिलाउन चाहन्छु । जनता मेरा देवता हुन्, उहाँहरु बस्ने घर मन्दिर हो, त्यो मन्दिरमा पूजा गर्ने म सेवक सेवक हुँ । सबै जनतालाई समान भावनाले हेर्छु व्यक्तिगत नातावाद, कृपावादमा लाग्नेवाला छैन ।
प्रदेशमा पनि तपाईंहरुको सरकार छैन, तपाईंलाई काम गर्न गाह्रो हुँदैन ?
सरका त हाम्रो संघमा पनि छैन, प्रदेशमा पनि छैन । तर, मैले जनताको मन जितेको छु । त्यसैले जस्तोसुकै अप्ठ्यारोमा पनि जनताको हितमा काम गर्न तल्लिन रहने छु ।
प्रदेशसभाको राजधानी भक्तपुर र बनेपा कहाँ बनाउने पहल हुन्छ ?
अहिलेको सरकारले प्रदेशको नामाकरण पनि गर्न सकेको छैन । राजधानी पनि तोक्न सकेन । मेरो आह्वान ‘चागुनारायण प्रदेश, भक्तपुर राजधानी हो ।’
धान्न सक्ने साधनस्रोत छ र ?
सानस्रोत अर्को कुरा हो, मेरो आह्वान त्यो रहने छ । गर्नलाई त उहाँहरुको दुई तिहाई छ । तर मेरो अन्तिमसम्म आवाज त त्यसमा रहन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot