Logo

नेपाललाई थप आठ स्वर्ण



काठमाडौं, १८ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त महिला भलिबलको उपाधि भारतले जितेको छ । स्वर्ण पदकका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप परिसरको कभर्ड हलमा भएको खेलमा भारतले ३–२ ले जित हात पारेको हो ।

नेपालले पहिलो सेट गुमाएपनि दोस्रो तथा तेस्रो सेटमा वापसी गर्दै २–१ को अग्रता लिएको थियो । भारतले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल २–२ को बराबरीमा ल्यायो । चार सेटमा खेलको टुंगो नलागेपछि पाँचौं सेटमा गएको थियो ।
नेपाल भने रजत पदकमा चित्त बुझाउनुपरेको छ । साग महिला भलिबलमा नेपालले रजत पदक जितेर पनि कीर्तिमान बनायो । अन्तर्राष्ट्रिय स्पर्धा नेपाली भलिबल टोलीको सबैभन्दा उच्च प्रदर्शन प्रदर्शन र पदक हो । यसअघि नेपालले कात्तिक अन्तिम साता बङ्गलादेशमा सम्पन्न बङ्गामाता एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । जुन अन्तर्राष्ट्रिय भलिबलमा नेपाली भलिबल टोलीको अहिलेसम्मकै उच्च प्रदर्शन थियो । खेलमा पहिलो सेट २५–१७ ले गुमाएर दबाबमा आएको नेपालले लगातार दुई सेट जितेर खेलमा उत्कृष्ट वापसी मात्रै गरेनन, बरु नेपाली प्रशंसकलाई स्वर्ण पदक जित्ने आश्वस्त तुल्याएको थियो । दोस्रो सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्याएको थियो । दोस्रो सेटमा प्रतिभा मालीको स्पाइकरको भूमिकामा चलाखीपूर्ण प्रदर्शनले अङ्क बटुल्न नेपालले अग्रता कायम गर्न महत्वपूर्ण अङ्क जोड्न सफल रह्यो । सेटको मध्यदेखि बराबरी गर्दै आएको भारतलाई नेपाली टोलीले दोस्रो सेट २५–२३ को झिनो अन्तरले आफ्नो पक्षमा पार्दै खेल १–१ को बराबरीमा ल्यायो । तेस्रो सेट नेपालले २५–२१ ले आफ्नो पक्षमा पार्दै खेलमा २–१ को अग्रता लियो ।
खेल चौथो सेटमा जाँदा नेपाली टोली केही सहज महसुस गरेको थियो । कभर्ड हलभित्र र दशरथ रङ्गशाला वरिपरि पनि घरेलु प्रशंसकको चासो, उत्सुकता र समर्थनले वातावरण खेलकुदमय बनेको थियो । नेपालले प्रत्येक अङ्क जोड्दा घरेलु समर्थकको हुटिङ्गले नेपाली खेलाडीलाई उत्साहित बनाएको थियो ।

तर भारतले चौथो सेटमा वापसी गर्दै आफ्नो पक्षमा पारेपछि नेपाल पुनः दबाबमा आयो । भारतले चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्नु अघि नेपालले १८–२० को स्थितिसम्म कडा चुनौती दिएको थियो । नेपालले दुई अङ्क थप्दा भारतले २५ अङ्क पुर्याउँदै चौथो सेट आफ्नो पक्षमा पारेर खेल टुंग्याउन पाँचौं सेटमा धकेलेको थियो । नेपाली महिला भलिबल टोलीको उत्साह र आत्मबल बढाउन उपराष्ट्रपति नन्दबहादुर पुन, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल विशिष्ट पाहुनाको रुपमा कभर्ड हलभित्र उपस्थित थिए । भारतले पाँचौं तथा अन्तिम सेटमा आक्रामक खेल प्रस्तुत गर्दै सुरुको केही मिनेटभित्रै नेपाललाई दुई अङ्कमा सिमित गर्दै आठ अङ्क आर्जन गरेको थियो । अन्तिम तथा निर्णायक सेटमा दबाब बढ्दै जाँदा नेपालले लगातार सर्भिसमार्फत् दुई अङ्क गुमायो । पाँच अङ्क जोडेपछि पुनः उत्साहित भएका घरेलु दर्शक सर्भिसमा नेपालले लगातार दुई पटक असफल भएपछि निराश हुन पुगे । भारतलाई त्यसको फाइदा भयो । अन्ततः भारतले नेपाललाई छ अङ्कमै रोकेर आफू १५ अङ्क जोड्दै पाँचौं तथा अन्तिम सेट जितेर साग महिला भलिबलमा स्वर्ण पदक लगातार जित्ने आफ्नो इतिहास कायम राख्यो ।

नेपालले लिग चरणमा पनि भारतबाट हार बेहोरेको थियो । लिग चरणको आफ्नो दोस्रो खेलमा नेपाल २४–२६, १२–२५ र १६–२५ को सोझो सेटमा पराजित भएको थियो । तर उपाधिको लागि भएको होडमा नेपालले भारतमाथि दुई सेटमा जित हात पारेर सागमा नेपाली टोलीले भारतमाथि कुनै सेट जित्न नसकेको आफ्नो विगत्को प्रदर्शनलाई पनि सुधार गरेको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot