Logo

नौमती बजाउने यी महिला



काठमाडौं, १८ मंसिर । यी नौ महिलाले दुई वर्ष अघि जमर्को गरे । आऔं मिलौं केही गरौं भन्दै केही रकम उठाए । नौमती बाजा खरिद गरे । बाजा बजाउन सिके ।

कठिन मिहेनतपछि दुई वर्षपछि नौमती बाजा बजाउन खप्पिस भए । अहिले उनीहरु नौमती बाजाको व्यवसायिक यात्रामा छन् । सांस्कृतिक कार्यक्रम देशि शुभकार्यमा समेत नौमती बजाउँछन् । महिलाले पनि सांस्कृतिको जर्गेना गर्ने अभिभारा काँधमा लिन सक्छन् भनी सन्देश प्रवाह गरेका छन् । देशभित्रै महिलाले रोजगारीको अवसर सृजना गरी परिवारसँग हाँसीखुशी बसेर जीउन सकिन्छ भनी उदाहरण प्रस्तुत गरेका छन् ।

यी महिला हुन् लोक सांस्कृतिक महिला नौमती बाजा समूह । जसले आफ्नो कला देखाउँदै देशभित्रै अवसर सृजना गरी अगाडि बढ्न सकिने सन्देश दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले नौमती बजाउँदै महिलाले पनि देशको हरेक क्षेत्रमा रोजगारीको अवसर सृजना गर्नुका साथ कला संस्कृतिको जर्गेना गर्न भूमिका खेल्न सकिने बताए ।

लोकसांस्कृतिक महिला नौमती बाजा समूहकी अध्यक्ष कृष्णा क्षेत्रीले महिलाहरु एकजुट भएर अगाडि बढ्न सकिने सन्देश दिन आफूहरु सक्रिय भएको जानकारी दिइन् । उनले भनिन्,‘देशमा कला र सीप सिकेर गरिखान सकिन्छ, दुःख पाउन विदेश जानुपर्दैन ।’ आफूहरुले ऋणमा शुरु गरेको नौमती समूह अहिले सशक्त बन्दै गएको बताइन् । समूहले देशको संस्कृतिको जगेर्ना गर्ने उद्देश्य समेत राखेको बताइन् ।

नौमती समूहलाई विदेशबाट पनि सांस्कृतिक कार्यक्रमको निम्तो आउन थालेको जानकारी दिइन् । कृष्णा क्षेत्रीका अनुसार निकट भविष्यमा देशबाहिर सांस्कृतिक कार्यक्रममा सहभागी हुने तय भएको छ ।

नौमती बाजा समूहकी कोषाध्यक्ष अम्बिका परियारले नेपालमा आफ्नै सीप कलाले गरिखान सकिने बताइन् । वैदेशिक रोजगारभन्दा देशभित्रै रोजगारको अवसर खोज्न महिलाहरुलाई आग्रह गरिन् । उनले भनिन्, ‘विदेशमा शोषित पीडित हुनुपरेको सुन्दा दुःख लाग्छ, हामी महिलाले एक भएर देशभित्र धेरै गर्न सक्छौं ।’

नौमती बाजा समूहका गुरु ध्रुव नेपालीले महिलाहरुले बाजा किनेर, सिकेर त्यसलाई सदुपयोग गरेकोमा खुशी व्यक्त गरे । कम साधन र स्रोतका बाबजुद पनि महिला नौमती बाजा समूहले ठूलो उपलब्धि हासिल गरेको बताए ।

कार्यक्रममा लोक सांस्कृतिक महिला नौमती बाजा समूहले बाजा बजाएर कला प्रदर्शन गरेका थिए । नौ जनाको समुहमा रहेका उनीहरुले ढलके, दमाहा, नरसिंहा, सहनाई, ट्यांको र झुरमा बजाएका थिए । उनीहरुले भविष्यमा साधन बढाउँदै लैजाने समेत बताए ।

लोक सांस्कृतिक महिला नौमती बाजा समूहमा कृष्णा क्षेत्री अध्यक्ष, पुनम भुसाल सचिव, अम्बिका परियार कोषाध्यक्ष, सदस्यहरु विष्णु परियार, नम्रता भुसाल, सरीता परियार, राधिका परियार, रीता नेपाली, मीना परियार र गुरु ध्रुव नेपाली रहेका छन् ।

Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्