Logo

सीमा अतिक्रमणबारे वार्ता पहल, नेपाल विशेष दूत



काठमाडौं, मंसिर ९ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन्। प्रधानमन्त्री केपी ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने गरेका हुन् । तर भारतीय पक्षबाट जानकारी नआएकाले टुंगो नलागेको नेता नेपालले बताए ।

नेकपा सचिवालय बैठकमा बुधबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा सरकारको विशेष दूत बनेर दिल्ली जान लागेको जानकारी दिएका थिए।

‘प्रधानमन्त्री ओलीले १५–२० दिनअगाडि मलाई सरकारको प्रतिनिधिका रूपमा दिल्ली जानुहोस्, मोदीजीसँग कुरा गरेर आउनुहोस् भन्नुभएको थियो। मैले हुन्छ भनें। परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेकै छ। मैले पनि भारतीय राजदूतसँग छलफल गरें। उताबाट कुनै जानकारी नआएकाले टुंगो लागेको छैन’, बैठकमा नेपाललाई उधृत गर्दै सचिवालयका एक सदस्यले भने।

अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको सचिवालय बैठकमा दिल्ली जानका लागि अहिलेसम्म भएका तयारीका विषयमा संक्षिप्त जानकारी गराएका थिए।

कूटनीतिक च्यानलमार्फत भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ताको समय मिलाउने र नेता नेपाल भारत जाने तयारी थियो। तर भारतीय प्रधानमन्त्रीसँगको भेटका लागि समय मिलिनसकेको छैन। ‘उहाँसँग समय लिन प्रयास जारी छ’, ती नेताले भने, ‘प्रधानमन्त्रीको पत्रसहित विशेष प्रतिनिधि दिल्ली जानुअगाडि भारतीय प्रधानमन्त्रीसँग समय लिनुपर्छ। त्यो मिलेको छैन।’

दिल्ली जाने विषयमा नेता नेपाल र अध्यक्ष दाहालबीच पटकपटक छलफल भएको छ। अन्नपूर्ण पोस्टबाट



प्रतिक्रिया दिनुहोस्