Logo

नेपालद्वारा भुटान १४१ ले पराजित (फोटोफिचर)



काठमाडौं, १९ मंसिर । काठमाडौंमा जारी १३ औं सागमा पुरुष तर्फको क्रिकेटमा नेपालले भुटानमाथि १४१ रनको भारी अन्तरले हराएको छ । नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले । टी–२० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रुपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्काले टी–२० मा शतक बनाएका थिए ।

 कीर्तिपुर मैदानमा ज्ञानेन्द्र र पारसको जोडीले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेको थियो । पारस अर्धशतकीय पारी खेल्दै आउट भए । पारसले २८ बलको सामना गर्दा ९ चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी दोस्रो विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । उनी ६ रन बनाए आउट भएका थिए ।

तेस्रो विकेटको रुपमा आउट भएका कप्तान मल्लले १०७ रन बनाए । ५३ बलमा शतक बनाएका ज्ञानेन्द्रले समग्रमा ९ छक्का र ५ चौका प्रहार गरे । यस्तै उप कप्तान दीपेन्द्रसिंह ऐरी ४५ रनमा नट आउट रहँदा आरिफ शेख पनि ४ रनमा अविजित रहे । भुटानका कर्मा दोर्जीले २ तथा तोब्दे सिंगेले १ विकेट लिए ।

आजको खेलमा तीन वटा रेकर्ड पनि बनेका छन् । कप्तान मल्लको पहिलो शतक हो भने नेपालले पहिलो विकेटका लागि गरेको सर्वा्धिक ठूलो साझेदारी पनि हो । यस्तै नेपालले सर्वा्धिक धेरै रनको रुपमा रेकर्ड बनाएको छ । यसअघि नेपालले सन् २०१४ को टी(ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वा्धिक ठूलो जित रहेको थियो ।

जवाफमा भुटान २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ९५ रनमा रोकियो । विशाल लक्ष्य पक्ष्याएको भुटानले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि भुटानले ३७ रन बनाउँदा तीन विकेट खेर फाल्यो । भुटानका तीन खेलाडीलेमात्र दोहोरो अंक जोड्न सके । जसमा रनजुङ दोर्जीले २७ रन बनाए भने सोनम टोग्बेले १५ र टोब्डेन सिंगेले ११ रनको योगदान गरे ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्