पोखरा, मंसिर २० । खेलका कुनै पनि गतिविधि हुँदा पोखराले हत्तपत्ती दर्शक अभाव झेल्नु पर्दैनथ्यो, बरु भीड थाम्न नसकेर आयोजकलाई हम्मेहम्मे पर्दथ्यो। पोखरामा बर्सेनि जसो हुने फुटबल, भलिबल, क्रिकेटजस्ता खेलले त थामिनसक्नु दर्शक पाउँदै आएका थिए। दर्शकको भीड बढेपछि व्यवस्थापनमा आयोजकलाई टाउको दुखाइ हुन्थ्यो। यतिसम्म कि यहाँ हुने खेलका गतिविधिमा दर्शकको चापले गर्दा प्यारापिटमा बस्ने त परैको कुरा, उभिने ठाउँसमेत पाउन हम्मेहम्मे हुन्थ्यो।
यति बेला यहाँ १३औं दक्षिण एसियाली खेलकुद साग चलिरहेको छ। सागका आठवटा खेल पोखरामा हुँदै छन्। सागका सबैजसो खेल यहाँका विभिन्न ठाउँमा भइरहेका छन्। धेरैजसो गतिविधि रंगशाला परिसरभित्रै भइरहेका छन्। खेलकुदप्रेमी दर्शकको रूपमा पोखराका बासिन्दाले यसअघि पहिचान बनाउँदै आए पनि यति बेला चलिरहेको सागको खेलमा भने दर्शकको सहभागिता साहै्र न्यून छ। एकाध खेलमा दर्शक केही बढेजस्तो देखिए पनि अधिकांश खेलमा प्यारापिट रित्तै देखिन्छन्।
फेवाताल किनारमा बिहीबार बिच भलिबल हुँदा दर्शक निकै नै कम थिए। अरू बेला बिच भलिबल हुँदा त्यही स्थानमा दर्शक अभाव हुँदैनथ्यो। त्यस्तै बिहीबार नै ह्यान्डबल हुँदा पनि दर्शकदीर्घा पूरै खाली थियो। नेपाल र पाकिस्तानबीच पुरुष ह्यान्डबल प्रतियोगिता हुँदा न्यून संख्यामा मात्र दर्शक थिए। बिहीबार नै भएको भारत र श्रीलंकाबीचको महिला फुटबल प्रतियोगितामा पनि रंगशालाले दर्शक अभाव खेपेको थियो। त्यसै गरी बंगलादेश र मालदिभ्सबीचको क्रिकेटले पनि सोचेजति दर्शक पाएन। मध्याह्नपछि नेपाल र माल्दिभ्सबीच भएको महिला फुटबलमा केही दर्शक बढेजस्तो देखिए पनि अरू बेलाका प्रतियोगितामा जस्तो चाप थिएन।नागरिक दैनिकबाट