Logo

स्याउ चाना जुम्लाको ब्रान्ड



जुम्ला, मंसिर २० । जुम्लामा स्याउका चानाबाट मात्र दुई करोड ५० लाख रूपैयाँ भित्रिने गरेको छ। खेर गइरहेको स्याउबाट चाना बनाइन्छ। चाना बाह्रै महिना पाइन्छ। जुम्लामा उत्पादित ‘सी’ र ‘डी’ ग्रेडको स्याउबाट चाना बनाउने गरेको कृषि प्राविधिक बताउँछन्। यहाँ उत्पादित स्याउको १० प्रतिशत चाना बनाउन प्रयोग हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा बताउँछन्।

उनका अनुसार वर्षे्नि २५ टनसम्म स्याउका चाना उत्पादन हुने गर्छ। प्रतिकेजी स्याउ चानाको आठ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। ‘प्रत्येक स्याउ किसानलाई स्याउ चाना बनाउने मेसिन र प्रविधिप्रयोगबारे तालिम दिइएको छ,’ प्रमुख देवकोटाले भने, ‘स्याउ चाना बनाउने भएकाले उत्पादित स्याउ खेर जाँदैन। यसले राम्रोसँग उपयोग भइरहेको छ।’

८० ग्रामको प्याकेटमा प्याक गरिएको स्याउ चाना एक सय रूपैयाँमा बिक्री हुन्छ। स्याउ चाना बनाउन थालेपछि किसानलाई खेर जाने स्याउ गाईबस्तुलाई दानाका रूपमा दिनु परेको छैन। चाना बनाउँछन्। जुस, जाम, जेली बनाउँछन्। यो किसानको राम्रो आम्दानीको स्रोत बनेको छ। यो शुद्ध स्याउको अर्गा्निक परिकार हो।

चाना बनाउँदा रासायनिक पदार्थ प्रयोग हुँदैन। यहाँ अनुदानका सोलार ड्रायर उपलब्ध गराइएकाले स्याउका चाना सुकाउन निकै राम्रो छ। असोज महिनामा स्याउ चाना बनाउँदा राम्रो हुने कृषि प्राविधिक बताउँछन्। वर्षा हुँदा कुहिने डर हुन्छ। असोज महिनामा प्रायः खडेरी हुने भएकाले असोजमै स्याउका चाना बनाउन किसान उत्साहित छन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्