Logo

प्रधानमन्त्रीले क्याबिनेट डाकेर के के निर्णय गर्दैछन्



काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार अस्पतालबाट डिस्चार्ज भएलगत्तै बालुवाटारबाट सक्रियता देखाइरहेका छन् । उनले केही दिनमै क्याबिनेट बैठक राखेर मन्त्रीहरुलाई महत्वपूर्ण निर्देशन दिने भएका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘प्रधानमन्त्रीज्यूले अब केही दिनमा क्याबिनेटको मिटिङ राख्नुहुन्छ र मन्त्रीहरुलाई ठिक ढंगले काम गर्न निर्देशन दिनुहुन्छ ।’

अस्पताल जानुअघि प्रधानमन्त्रीले मन्त्रीहरुलाई दिएको निर्देशनको प्रगतिबारे जानकारी लिने भएका छन् । कार्यसम्पादन करार अनुसार कसरी काम भएको छ भन्ने जानकारी लिनेछन् । रिमालले भने, ‘उहाँले मन्त्रीहरुलाई त्यसबेला फागुन महिनाभित्र गर्नुपर्ने पुँजीगत खर्चलाई ध्यान दिनुहोस् भन्नु भएको छ । प्रधानमन्त्रीले जनताले महसुस गर्ने गरी हुने कामलाई मात्रै माइलस्टोनमा राख्न निर्देशन दिनुभएको छ ।’

ओली माथिल्लो सदको नयाँ चुनावबारे समेत गम्भीर भइसकेका छन् । रिमालका अनुसार राष्ट्रियसभाका चुनावका लागि क्याबिनेटले तय गरेर राष्ट्रपतिलाई पत्र लेख्ने, मिति तोक्ने काम हुने बताए ।

सभामुख चयनमा पनि प्रधानमन्त्री गम्भीर भइसकेका छन् । संसदको हिउँदे अधिवेशनबाट सभामुख चयन हुनेछ । त्यसका लागि ओलीले आन्तरिक गृहकार्य थालिसकेका छन् ।

प्रधानमन्त्री ओलीले साग खेलकुदमा पदक जित्ने खेलाडीका लागि प्रोत्साहनस्वरुप विशेष घोषणा गर्ने बुझिएको छ । मन्त्रिपरिषद् बैठक बसेर घोषणा गरिने बुझिएको छ ।

भारतसँग सीमा समस्याका बारेमा कुटनीतिक तरिकाले छलफल अगाडि बढाइने रिमालले बताए । उनले भने, छिमेक भनेकै कहिलेकाही घाच्चघुच्च हुने ठाउँ हो । परको ठाउँमा सीमानाको कुरा हुँदैन । यी धेरै पहिलाको विषय हुन्, ती हल गर्नुपर्ने हो ।

प्रधानमन्त्री तहमा पनि वार्ता हुनसक्ने बताइएको छ । रिमालका अनुसार प्रधानमत्री तहमा पनि वार्ता हुनसक्छ । टेबलमा प्रमाण पेश गरिने उनको भनाई छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot