Logo

देशका लागि चम्किए चेली



काठमाडौं, २१ मंसिर । आधा आकाश ढाकेका महिलाले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सानदार प्रदर्शन गरेका छन् । अहिलेसम्म प्राप्त कुल ४१ स्वर्णमध्ये २१ वटा महिलाले मात्र जिताएका छन् । दुईवटा मिक्सतर्फको स्वर्णमा पनि महिलाको हिस्सा छ ।

नेपाली महिलाले देशका लागि धेरै गर्दै आएका छन् र गर्न सक्छन् भन्ने सन्देश हो यो । नेपाली महिलाले देशका शीर उचो राख्ने काम गरे । हालसम्म नेपालले जितेको ४१ स्वर्णमध्ये महिलाले २१ स्वर्ण जितेका छन् । मिक्सतर्फ दुई स्वर्ण समेत जितेका छन् ।

तेक्वान्दोमा सबैभन्दा बढी ६ स्वर्ण महिलाकै नाममा छ । तेक्वान्दोमा मिक्स पुम्सेमा प्राप्त स्वर्णमा पनि महिलाको नाम छ । कराँतेमा ४, उसुमा ४, साइकसिलङमा २, पौडीमा २ स्वर्ण महिलाले जितेका छन् ।

भारोत्तोलन, ट्रायथलन र एथलेटिक्समा पनि एक एक स्वर्ण जितेका छन् । महिलाले आफूलाई अब्बल सावित गरेका छन् ।

संघर्षले खारिएमा महिला
लक्ष्मी मगरले खेलेर केही गर्छु भनेर संघर्ष शुरु गरिन् । साइकलिङकी यी खेलाडीले कठोर परिश्रम गरेर स्वर्ण पदक जितिन् । नुवाकोटकी यी चेली सामान्य परिवारकी हुन् । तर, उनको इच्छाशक्तिलाई आर्थिक अवस्थाले रोकेन ।

आयशा शाक्य तेक्वान्दो खेल्दा खेल्दै पूर्व स्टार खेलाडी दिपक बिष्टसँग विवाहमा बाँधिइन् । दुई छोरालाई जन्म दिइन् । तर, उनको खेलमा पूर्णविराम लागेन । निकै मिहेनतका साथ खेलर देशलाई दुई स्वर्ण दिलाइन् ।

सुनीता महर्जन सामान्य परिवारकी हुन् । उनका बाबु माली काम गर्छन् । तर, उनको इच्छाशक्तिलाई आर्थिक अवस्थाले रोकेन । ६७ केजी तौल समूहमा स्वर्ण जित्दा गर्वको आँसु खसालिन् ।

नेपाललाई कुल ४१ स्वर्ण पदक दिलाउनेमध्ये अधिकांश महिला नै छन् । तिनको संघर्ष र परिश्रमको कथा सुन्न लायक छ ।

बेलायतमा बस्ने गौरिका सिंहले देशलाई ऐतिहासिक दुई स्वर्ण दिलाउँदा आफूलाई धेरैले नेपाली होइन भन्ने गरेको गुनासो गरिन् । तर, उनको मन नेपाली नै हो । त्यसैले देशलाई आवश्यक पर्दा आएर पदक जिताएर जान्छिन् ।


महिलाले जितेका स्वर्ण पदक
तेक्वान्दो- ६
मिक्स पुम्से -१
कराँते- ४
उसु- ४
उसु मिक्स थाउलो- १
साइकसिलङ- २
पौडी- २
एथलेटिक्स- १
ट्रायथलन- १
भारत्तोलन- १

स्वर्ण विजेता महिला

तेक्वान्दो

आयशा शाक्य (२९ वर्षमाथिको पुम्से)
आयशा शाक्य र सञ्जीवकुमार ओझा (२९ वर्षमाथिको मिक्स पुप्से)
पार्वती गुरुङले (२३ देखि २९ वर्ष पुम्से)
सीना मादेन लिम्बु (१७ देखि २३ वर्ष पुम्से)
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (२३ वर्षमाथिको स्पर्धा)
काजल श्रेष्ठ (४६ केजी महिला)
संगिता बस्याल (६२ केजी महिला)
कराँते
निर्मला तामाङ, संगिता मगर र सरु काकी (महिला टिम काता)
कुसुम खड्का (४५ केजी कुमुते)
अनु अधिकारी (५० केजी कुमुते)
सुनिता महर्जन (६७ केजी महिला कुमिते)
उसु
सुस्मिता तामाङ (थाउलो)
सुष्मिता तामाङ र विजय सिंजाली (थाउलो)
जुनी राई (महिला ५६ केजी )
निमा घर्ती मगर (नन्डाओ अल राउन्ड)

साइकलिङ
निष्मा श्रेष्ठ (महिला डाउनहिल)
लक्ष्मी मगर (महिला क्रस कन्ट्रि)

पौडी
गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल)

गौरिका सिंह (महिला २०० मिटर ब्याकस्ट्रोक)

एथलेटिक्स
सन्तोषी श्रेष्ठ (महिला १० हजार मिटर)

ट्रायथलन
सोनिका गुरुङ (महिला)
भारोत्तोलन
सन्जु चौधरी (महिला ५९ केजी)

 



प्रतिक्रिया दिनुहोस्