Logo

किरणसिंहलाई म्याराथनमा स्वर्ण



काठमाडौं, २२ मंसिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको सातौं दिन दुइ स्वर्ण पदक जितेको छ । म्याराथनमा किरणसिं बोगटी र कुस्तीमा संगिता धामीले स्वर्ण पदक जित्नुभयो । जनकपुरधाममा जारी कुस्ती विधामा धामीले नेपाललाई पहिलो स्वर्ण दिलाए। धावक किरणसिंहले ३२ वर्षपछि नेपाललाई म्याराथनको ४२ किलोमिटर दौडमा स्वर्ण पदक ल्याउन सफल भए।

सागको सातौं दिन नेपालका लागि ठूला दुई विधामध्ये एउटामा हार र अर्कोमा जितले खेल प्रशसंकलाई मिश्रित परिणाम ल्यायो । फुटबल विधाको खेलले खेल प्रशंसकलाई उत्साहित बनाउँदा क्रिकेटमा बङ्गलादेश विरुद्धको हारले निराश हुन बाध्य तुल्यायो । फुटबलमा नेपाल फाइनल नजिक पुगेको छ । क्रिकेटमा भने हारपछि तेस्रो स्थानको लागि हुने स्पर्धामा पुर्याएको छ । बक्सिङ्ग विधाका छजना बक्सर फाइनलमा पुग्दा नेपालका लागि सातौं दिन उपलब्धीमूलक नै रह्यो । ३९ स्वर्णको नतिजा, भारतको प्रभुत्व कुल ३९ स्वर्णका लागि भएको स्पर्धामध्ये २६ स्वर्ण भारतले जित्यो । हालसम्म २१४ स्वर्ण पदकको नतिजा आइसकेको छ । आगामी तीन दिनभित्र थप १०० स्वर्ण पदकको लागि स्पर्धा हुनेछ । ४३ स्वर्ण, ३४ रजत र ६६ कास्यसहित नेपालको कुल पदक संख्या १४२ पुगेको छ । नेपालले शनिबार दुई स्वर्ण, छ रजत र १७ कास्य पदक जित्यो ।

भारतले कुल स्वर्ण संख्या ११० पुर्याएको छ । उसले ६९ रजत र ३५ कास्य गरी २१४ पदक जितेको छ । श्रीलङ्काले म्याराथनमा पाँच गरी सातौं दिन सात स्वर्ण हात पार्न सफल रहँदै कुल स्वर्ण संख्या ३० पुर्याएको छ । ऊ पदक तालिकामा तेस्रो स्थानमा यथावत छ । उसले हालसम्म ५७ रजत र ८३ कास्यसहित कुल १७० पदक जितेको छ । पाकिस्तानले सातौं दिन चार स्वर्ण हात पारेर कुल २३ स्वर्ण जितेको छ । पाकिस्तानले ३० रजत र ३४ कास्य गरी कुल ८७ पदक प्राप्त गरेको छ । त्यसै गरी बङ्गलादेशले शनिबार तीन स्वर्ण जित्न सफल भयो । उसले सात स्वर्णसहित २२ रजत र ५५ कास्य गरी ८४ पदक जितेको छ । छैठौं स्थानको माल्दिभ्सले एक स्वर्ण र दुई कास्य गरी तीन पदक तथा पुछारको भुटानले ६ कास्य जितेको छ ।

नेपाललाई संगिता र किरणसिंहको स्वर्ण
संगिता धामीले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको कुस्ती विधामा नेपालका लागि पहिलो स्वर्ण जितेको छ । उनले ५५ किलो तौल समूहमा स्वर्ण पदक जितेको हो ।
जनकपुरधाममा शुक्रबारबाट सुरु भएको सागको कुस्ती विधाको खेलमा संगिताले शनिबार बङ्गलादेशकी सकिरा सरकारिनेलाई हराएर स्वर्ण पदक प्राप्त गरे। सागको कुस्ती विधामा नेपालले स्वर्ण जितेको यो पहिलो अवसर हो । पहिलो दिन नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो । सकिरालाई संगिताले ४–१ ले हराउँदै नेपाललाई ४३ औं स्वर्ण पदक दिलाए।
नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदको म्याराथनमा स्वर्ण पदक जितेको छ । नेपाली धावक किरणसिंह बोगटीले नेपाललाई ४२ किलोमिटर म्याराथनमा स्वर्ण पदक जितेको हो । उहाँले उक्त विधामा तीन दशकपछि नेपाललाई स्वर्ण दिलाए।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot