Logo

सेयर कारोबारमा बैंकको हिस्सा घट्यो



काठमाडौँ, २२ मंसिर । साप्ताहिक सेयर कारोबारमा वाणिज्य बैंक समूहको कारोबार हिस्सा घटेको छ । गत साता कुल कारोबारमा बैकिङ समूहको हिस्सा ३८ प्रतिशतमा झरेको छ ।

साताभर कुल १ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । जसमध्ये करिब ५२ करोड रुपैयाँ बराबरको कारोबार बैकिङ समूहका कम्पनीको छ । यो कुल साप्ताहिक कारोबारको करिब ३८ प्रतिशत मात्र हो । सामान्य अवस्थामा बैकिङ समूहले कुल सेयर कारोबारको करिब ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगटदै आएको छ । तर, पछिल्ला ५र६ महिना यता यस्तो हिस्सामा निकै उतारचढाव देखिदै आएको छ । कहिले यस्तो हिस्सा बढेर ६४ प्रतिशतसम्म पुगेको छ भने कहिले ४२ प्रतिशतसम्म पनि झरेको छ । हाल बजारमा २७ वाणिज्य बैंकको सेयर सूचीकृत छन् । ग्लोबल आईएमई र जनता बैंकको मर्जर पछि सूचीकृत बैंक संख्या २६ मा झर्ने छ । सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सेयर सूचीकृत छैन ।

वाणिज्य बैंक समूहको सेयर स्वामित्व घटेसँगै बिमा र लघुवित्त समूहको हिस्सा बढेको छ । साताको कारोबारमा लघुवित्त समूहको हिस्सा साढे १६ प्रतिशत र बिमाको १७ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले भर्खर पहिलो त्रैमासको अपरिष्कृत प्रतिवेदन सार्वजनिक गरेको छन् । धेरैले लाभांश पनि घोषणा गरिसकेको छन् । यही कारण पनि बैकिङ समूहको सेयरमा लगानीकर्ताको आकर्षक कम रहेको जानकारहरु बताउँछन् ।

यो साता करिब २३ हजार २ सय कारोबारबाट १ सय ८७ कम्पनीका ४५ लाख ९७ हजार कित्ता सेयर किनबेच भए । साप्ताहिक कारोबारमा नेप्से सकारात्मक देखिएको छ । यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रहयो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्