Logo

सिक्टा सिँचाइको पानी नेपालगन्ज पुग्यो



काठमाडौँ, २२ मंसिर । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगन्ज पुगेको छ। पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगन्ज उपमहानगरपालिका २० स्थित राँझामा पुगेको हो। डुडुवा शाखा नहर पप्पु कन्ट्रक्सनले सम्झौता अनुरुप निर्माण नगरे पनि खोलालाई मर्मत गरेर पूरानै संरचनामा पानी सञ्चालन गरिएको आयोजनाका डिभिजन इन्जिनियर एकराज भट्टराईले जानकारी दिए। उनले भने, ‘एक्जाभेटरले नहर सफा गर्दै पानी सञ्चालन गरेका हौं। किसानले पम्पिङ गरेर भए पनि सिँचाइ गर्न सक्नेछन्।’ अब डुडुवा मुल नहरबाट पुरैनी उपशाखाबाट नेपालगन्ज क्षेत्रमा र इन्द्रपुर उपशाखाबाट जानकी गाउँपालिकाका विभिन्न क्षेत्रमा सिँचाइको पहुँच हुनेछ।

डुडुवाको पिप्रहवास्थित खजुरा शाखाबाट चार किलोमिटर टाढा खजुरा गाउँपालिकामा पनि पानी पुगेको छ। शुक्रबारदेखि नै इन्द्रपुर शाखामा पानी सञ्चालन गरिएको छ। आइतबारसम्म पुरैनी उपशाखामा पनि पानी सञ्चालन गर्ने सिक्टा सिँचाइ आयोजनाको तयारी छ। खोलामा पानी सञ्चालन भएको थाहा भएपछि ठाउँठाउँमा किसानले पम्पिसेटको प्रयोगबाट गहुँमा सिँचाइ गरिरहेका छन्। डुडुवा शाखा नहर निर्र्माण नभए पनि किसानलाई गहुँ सिँचाइ गर्न मिल्ने गरी पानी छोडिएको आयोजनाले जनाएको छ। कोहलपुर नगरपालिका १५ पार्वतीपुरमा भेटिएका बलिराम हरिजनले पूर्वजानकारी बिना नै नहरमा पानी छोड्दा सात आठ विगाहा क्षेत्रफलको गहुँ र मसुरोमा क्षति पुगेको बताए। नहरको पार्वतीपुर क्षेत्रमा चार जना मजदुर नहरमा बोराको बाँध बाँधेर पानी नेपालगन्जतिर पठाइरहेका थिए।

१७ मंसिरदेखि सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको पूरै क्षेत्र ४५।२५ किलोमिटरमा नियमित पानी सञ्चालन भइरहेको छ। १८ मंसिरमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलगायतको टोलीले सिक्टाको पश्चिमी नहरमा पानी सञ्चालनको स्थलगत अवलोकन गरेका थिए। यस अघि कार्तिकको तेस्रो साता सिक्टाको पश्चिमी नहरको स्थलगत अवलोकन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ ले नहरमा मर्मत गर्दै पानी सञ्चालन गर्न निर्देशन दिएका थिए। मन्त्रीको निर्र्देशनपछि पश्चिमी नहरको मर्मत गर्दै सुरूमा एक घनमिटर हुँदै अहिले तीन घनमिटर पानी सञ्चालन भइरहेको छ।

पम्पिसेटबाट गहुँ सिँचाइ
सिक्टा सिँचाइ आयोजनाको मूल नहर र शाखा नहरमा पानी सञ्चालन गरेपछि किसानले पम्पिसेटबाट नहरको पानीबाट सिँचाइ गरिरहेका छन्। कोहलपुर–१३ भरैया घर भएका शिवप्रसाद थारु चन्नहवा क्षेत्रमा दुई वटा पम्पिसेटबाट गहुँमा सिँचाइ गरिरहेको भेटिए। उनले नौ विगाह क्षेत्रफलमा गहुँ खेती गरेका छन्। ‘पहिले पहिले ८०र९० क्वीन्टल मात्र गहुँ फल्थ्यो। सिँचाइ सुविधा भएपछि यो वर्ष डेढ सय क्वीन्टल गहुँ फल्ने आशा छ। उनी भन्छन्, ‘अब नियमित सिँचाइ हुन्छ भने तीन बाली लगाउँछु। सिँचाइको अभावमा खेत बाँझै राख्नुपर्थ्यो। अब त उत्पादन पनि दोब्बर नै हुन्छ।’ उनले गत वर्ष निकै परबाट १० दिन बोरिङको पानी लगाउँदा पनि सिँचाइ पर्याप्त नभएको र यो वर्ष सिक्टाको पानी पम्पिसेटबाट दुई दिनमै सबै खेतमा सिँचाइ गरेको बताए। कोहलपुर नगरपालिका(४ मा लियाकत अलि आफ्नो १० कठ्ठा जग्गामा नहरको पानी पम्पिेटबाट सिँचाइ गर्दै थिए।

पश्चिमी मूल नहरको पानी अहिले जेठी नालाबाट निकास दिइएको छ। सिक्टा सिँचाइ आयोजनाको पश्चिमी र पूर्वी नहरबाट बाँकेको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको छ। आयोजनाको लागत २५ अर्बको रहेको छ। अहिलेसम्म ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्