काठमाडौं, मंसिर २२ । लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनबाट दुई वर्षपछि हात झिकेको छ।लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको करिब दुई वर्षपछि हात झिकेको हो।गत साउनमा उक्त सम्झौता गरेको बोर्डले पाँच दिनअघि अबको बाँकी सम्पूर्ण प्रक्रिया काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने जनाउँदै फाइल फिर्ता पठाएको हो।
एक दशकदेखि प्रक्रियामा रहेको सयौं पृष्ठको कागजातसहितको उक्त फाइल स्क्यानिङ गरी फिर्ता पठाइएको छ।बोर्डले नयाँ कानुनअनुसार फोहोर व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको भएकाले बाँकी प्रक्रिया उतैबाट अघि बढाउने गरी फाइल फर्काएपछि उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बनेको छ। बोर्डले कामपासँग सल्लाह गरी फाइल फिर्ता पाठाएको दाबी गरेको छ।
नेपवेस्टले फोहोर व्यवस्थापन गर्न आवश्यक पर्ने जग्गा, कामपाले प्रयोग गरेको सवारीसाधनसहित अन्य उपकरण, कर्मचारी व्यवस्थापन, अवकाश हुन लागेका कर्मचारीको सेवासुविधा, थप तीन स्थानमा ट्रान्सफर स्टेसन निर्माण, बञ्चरेडाँडा ल्यान्डफिल साइटको पूर्वाधार निर्माणलगायतका विषयमा कामपाको स्पष्ट धारणा मागेको थियो। तर कामपाले आफ्नो धारणा सार्वजनिक नगरेपछि एक वर्षमा पनि दुई पक्षबीच सम्झौता हुन सकेन।नेपाल समाचारपत्रबाट