Logo

प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलद्वारा नेपाली खेलाडीको प्रशंसा



२२ मङ्सिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गरेका छन् । आज एक सन्देशमार्फत मुख्यमन्त्री पौडेलले नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढङ्गले गरेको र नेपाली खेलाडीले राम्रो खेलेको उल्लेख गरेका छन् ।
“हालसम्म पनि नेपाली खेलाडीहरुको प्रदर्शन अत्यन्तै सुखद् नै छ । विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै विभिन्न पदक जित्न सफल सबै खेलाडीहरूलाई म हार्दिक शुभकामना दिन चाहन्छु । बाँकी खेलहरूबाट पनि सफल हुने विश्वासका साथ सबै खेलाडीहरूलाई अग्रिम शुभकामना” सन्देशमा उल्लेख छ । सन्देशमार्फत पौडेलले खेलक्षेत्रको विकासका लागि प्रदेश सरकार लागिरहेको बताउँदै खेलकूदको विकासका लागि सरकारले सञ्चालन गरिरहेका गतिविधि प्रस्तुत गरेका छन् ।

पौडेलद्वारा प्रकाशित सन्देशमा भनिएको छ, “प्रदेश सरकार खेलकूदको दीर्घकालीन विकासका लागि नीतिगत रूपमा नै लागिरहेको छ । प्रदेशमा एक अन्तराष्ट्रियस्तरको खेलकुद प्रशिक्षण प्रतिष्ठान, जिल्लामा रङ्गशाला एवम् स्थानीय तहमा खेल मैदान स्थापना र व्यवस्थापन, सबै विद्यालयमा खेल मैदानको व्यवस्था र निर्वाचन क्षेत्रहरुमा कभर्ड हल निर्माण कार्य भैरहेको छ । आगामी दुई वर्षमा भौतिक रुपमा हामी सक्षम हुनेछौंँ, अनि प्रदेश सरकारले खेलाडीहरुको व्यावसायिक जीवनको संरक्षण पनि गर्नेछ ।”



प्रतिक्रिया दिनुहोस्