Logo

नेविसंघले गृहमन्त्री बादलको राजीनामा माग्यो, कारण यस्तो छ



काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीसंघ (नेविसंघ) ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा मागेको छ । बाँकेको कोहलपुरमा शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका स्कुले विद्यार्थीमाथि प्रहरी प्रशासनले धरपकड र निर्मतापूर्वक हातपात गरेको नेविसंघको आरोप छ । संघले उक्त घटनाको विरोधमा काठमाडौंमा प्रदर्शनसमेत गरेको थियो ।

आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् ।

पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो । नेविसंघका नेता मनोज वैद्यले भने, ‘कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’

आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर(१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज(कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot