काठमाडौँ, २४ मंसिर । चन्द्रागिरि नगरपालिकाको सतुङ्गलस्थित धौलागिरि आवास क्षेत्रसँगैको हीरा इँटाभट्टामा इँटा पोल्न आगो बालेपछि स्थानीय अघिल्लो वर्षझैं सकस भोग्नुपर्ने भयो भनेर छटपटिएका छन् । टोलबासी भेला हुन्छन् र अब के गर्ने भन्दै छलफल पनि गर्छन् ।
चन्द्रागिरि नगरपालिकाको सतुङ्गलस्थित धौलागिरि आवास क्षेत्रसँगैको हीरा इँटाभट्टा । तस्बिर स् मकररकान्तिपुर
तर, निष्कर्ष निकाल्न भने सक्दैनन् । भट्टा बन्द गराइदिन जिल्ला प्रशासन र नगरपालिकामा महिनाअघि दिएको निवेदनको सुनुवाइ नहुँदै भट्टा सञ्चालकले इँटा पोल्न थालिसके । ‘जुन दिनदेखि भट्टा चल्न थाल्यो त्यसपछि हामी निसास्सिएका छौं । कपडा धोएर सुकाउँदा धुलैधुलो हुन्छ,’ सतुङ्गलकी विना गिरीले भनिन्, ‘कालो धुवाँ फ्याँक्छ । रातभरि ठूला गाडी चलाइरहेको हुन्छ । सफा लुगा लगाउन पाइँदैन । ध्वनि, धुलो र धुवाँले बर्बाद बनाइसक्यो ।’
कीर्तिपुर नगरपालिका ४ झुलपोखरीका अच्यूत अधिकारीले आफ्ना बुबा इँटाभट्टाको धुलो र धुवाँका कारण फोक्सोको क्यान्सरले तीन वर्षअघि बितेको बिर्सेका छैनन् । ‘बुबा त भट्टाकै कारण गुमायौं । थप क्षति हुन नदिन सबैतिर हारगुहार गरिरहेका छौं,’ उनले भने, ‘तर कसैले वास्ता गरेनन् ।’ उनको घरवरिपरि चारवटा इँटाभट्टा छन् । ‘भट्टा चलेको बेला ढोका खोल्न सकिँदैन । धुलो र धुवाँले सास फेर्नै गाह्रो हुन्छ, भट्टाका कामदारले वरिपरि गरेको दिसापिसाबले उत्तिकै दुर्गन्धित बनाएको छ,’ उनले भने, ‘जिन्दगी नरक बनेको छ । तर कहीं सुनवाइ छैन ।’
इँटाभट्टाको असर शैक्षिक संस्थामा समेत परेको छ । चन्द्रागिरि नगरपालिका, विष्णुदेवी मन्दिरनजिकैको काठमाडौं शिक्षा क्याम्पसका विद्यार्थी भट्टाबाट निस्कने धुवाँधुलोमा उकुसमुकुस भएर पढिरहेका छन् । ं‘झ्याल ढोका खुला राखेर पढाउनै सकिँदैन । डेक्स बेन्चमा भट्टाको धुलो र कोठाभरि धुवाँ हुन्छ,’ क्याम्पस प्रमुख शत्रुघ्नप्रसाद गुप्ताले भने, ‘क्यान्टिनमा खाना खान पनि सकिँदैन । भट्टाबाट निस्कने धुलो र धुवाँले भवन नै कालो भएको छ ।’ क्याम्पस अगाडि ५० फिटको दूरीमा रहेको चन्द्रविनायक इँटाभट्टाले विद्यार्थीको स्वास्थ्य, पठनपाठन, खेलकुदमा असर पारेको र वातावरणसमेत बिगारेको भन्दै चार सय विद्यार्थीले हस्ताक्षर गरेर भट्टा बन्द गरिदिन चन्द्रागिरि नगरपालिका र जिल्ला प्रशासन काठमाडौंमा निवेदन दिएका छन् । ‘यसपालि फेरि भट्टा सञ्चालन हुन लागिसक्यो । हाम्रो माग सुनुवाइ भएको छैन,’ गुप्ताले भने ।
सर्वोच्च अदालतले बालबालिका पढ्ने स्कुल, घनाबस्ती र विदेशी पर्यटकका लागि बनाइएका रिसोर्टवरपरको इँटा उद्योगहरू बन्द गराउन ०६२ मंसिर २४ मा आदेश जारी गरेको थियो । ‘राष्ट्रको ढुकुटीमा विदेशी मुद्रा आर्जन गर्ने पर्यटकका लागि बनेका ग्रामीण क्षेत्रमा भएका स्थानीय रिसोर्ट र बालबालिका पढ्ने स्कुल र घनाबस्ती क्षेत्रवरपरका इँटा उद्योगहरू बन्द गर्न लगाउने,’ आदेश दिँदै सर्वोच्चले यी क्षेत्रबाहेक अन्यत्रका इँटाभट्टाहरूलाई प्रदूषण नियन्त्रण उपकरण जडान गर्न लगाउने भनेको छ । तर, अदालतको आदेशविपरीत घनाबस्ती, शैक्षिक संस्था र रिसोर्टको वरिपरि नै इँटाभट्टा चलिरहेका छन् । तिनले सञ्चालन अनुमतिसम्बन्धी मापदण्डसमेत पालना गरेको छैनन् । मापदण्डमा बस्ती र जंगलको एक किलोमिटरभित्र भट्टा चलाउन नपाउने, भट्टावरिपरि धुलोरहित सडक र हरियाली बनाउनुपर्ने व्यवस्था छ ।
चन्द्रागिरि नगरपालिकाले ०७२ भदौ १५ मा इँटाभट्टा बन्द गर्ने निर्णय गरेको थियो । एक वर्षअघि इँटाभट्टा इजाजत नवीकरण नगर्ने र साउन १ देखि सञ्चालनमा रोक लगाउने निर्णयसमेत गरेको छ । उक्त निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेर स्थानीय बासिन्दाले अघिल्लो वर्ष नगरपालिका र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि प्रशासनले घरेलु तथा साना उद्योग कार्यालय प्रमुखको संयोजकत्वमा सुझाव संकलन कार्यदल गठन गरेको छ । कार्यदलमा स्थानीय बासिन्दा, व्यवसायी, नगरपालिकाका प्रतिनिधि, वातावरणविज्ञलगायत छन् । कार्यदलको बैठक पटक–पटक बसे पनि काम भएको छैन । इँटा उद्योग व्यवसायी महेन्द्रबहादुर चित्रकार भने एउटा भट्टामा २ करोडसम्म लगानी परेकाले तत्काल हटाउन नसकिने बताउँछन् । ‘राज्यले अनुमति दिएर खोलेका हौं । राजस्व पनि तिरिरहेका छौं,’ उनले भने, ‘घनाबस्ती विस्तार भइरहेको छ । बाध्य भएर तीन वर्षभित्र हामी आफैं बाहिरिन्छौं ।’
यसैबीच, नगरपालिकाका मेयर, प्रवक्ता र कार्यकारी अधिकृतले इँटाभट्टा सञ्चालन गर्न दिन जिल्ला प्रशासनमा सझाव दिएपछि स्थानीय बासिन्दा थप आक्रोशित भएका छन् । ‘व्यवसायीसँगको मिलोमतोमा मेयरले भट्टा सञ्चालन गर्न इजाजत दिए पनि फिल्डमा हामी दिँदैनौं,’ इँटाभट्टा पीडित मूल संघर्ष समितिका अध्यक्ष मुकुन्दप्रसाद घिमिरेले भने, ‘हाम्रो आवाज अब भट्टाको धुलो र धुवाँले थुन्न सक्दैन ।’
कान्तिपुर दैनिकबाट