Logo

गौरिका गौरव



काठमाडौँ, २४ मंसिर । गुवाहाटीमा तीन वर्षअघि १२ औं सागमा एक रजत र तीन कांस्य पदक जित्दा गौरिका सिंह आफैं चकित परेकी थिइन् । १३ वर्षको छँदै उनले पौडीको व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो खेलाडी हुने सोचेकी थिइनन् । त्यहाँ ‘बोनस’ का रूपमा चार पदक जितेपछि उनले सपना बुनेकी थिइन्, सागमा स्वर्ण चुम्ने । त्यो सपना उनले स्वदेशमै आएर १३ औं संस्करणमा पूरा गरिन् । त्यो पनि एउटा होइन, चारवटा स्वर्ण जितेर ।

यससँगै उनी दक्षिण एसियाली खेलकुदको महाकुम्भको ३५ वर्षे इतिहासमा एउटै संस्करणमा दुईभन्दा बढी स्वर्ण जित्ने पहिलो नेपाली हुन् । उनले सागमा चार स्वर्णसहित नेपाली खेलकुदमा सर्वाधिक सफल खेलाडी दीपक विष्ट ९तेक्वान्दो० को कीर्तिमान सोमबार बराबरी गरिन् । यो सागमा सहभागी नौ स्पर्धामै पदक जित्ने क्रममा ४ स्वर्ण, २ रजत र ३ कांस्य हात पारेकी उनले भनिन्, ‘मलाई निकै सम्मानित महसुस भइरहेको छ । सबै जनाको साथ भएरै रेकर्ड बनाएँ । नयाँ रेकर्डलाई पनि उछिन्दै धेरैले राम्रो गरेको हेर्ने चाहना छ ।’ ‘धेरै खुसी छु,’ १७ वर्षीया गौरिकाले आफ्नो कीर्तिमान बराबरी गरेपछि विष्टले भने, ‘हामीले रेकर्ड भनेर रेकर्ड बनाएका होइनौं, खेल्दाखेल्दै आफैं बनेको हो । उनले रेकर्डभन्दा पनि जुन किसिमले मेडल ल्याएकी छन्, त्यसले सुनौली अक्षरले हामी गर्न सक्छौं भनेर झकझक्याएको छ । उनलाई योभन्दा माथि एसियाली खेलकुद र ओलम्पिकमा मेडल ल्याउनका लागि शुभकामना दिन चाहन्छु ।’

चौथो स्वर्ण जित्ने क्रममा गौरिकाको भारतकी शिवांगी शर्मासँग रोमाञ्चक प्रतिस्पर्धा भयो । उनले ५८।१३ सेकेन्डसाथ शिवांगीलाई ०।०२ सेकेन्डले मात्रै पछाडि पारेको सय मिटर फ्रिस्टाइलमा हात पारेको स्वर्णबारे भनिन्, ‘स्वर्ण पाउँछु कि पाउँदिनँ थाहा थिएन । किनभने मेरो मुख्य स्पर्धा यो होइन । तर गोल्ड मेडल पाएपछि मेरा लागि सबभन्दा आकर्षक लाग्यो यो । व्यक्तिगत उत्कृष्ट पनि भयो ।’ चार स्वर्णमध्येको सबभन्दा विशेष भएको उल्लेख गर्दै थपिन्, ‘सबभन्दा फेवरेट जित हो यो । यस्तो अन्तर थियो कि थाहै थिएन । दर्शकले गरिरहेको हुटिङमा यस्तो भयो कि मैले जितें कि उनले थाहै भएन । बोर्डमा नतिजा हेर्नै डर लाग्यो ।’ उनले स्वर्ण हात लागेको थाहा पाएपछि माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई ‘फ्लाइङ किस’ दिएकी थिइन् । यसअघि २ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइलमा पनि स्वर्ण जितेकी गौरिका १ सय मिटर ब्याकस्ट्रोक र ५० मिटर ब्याकस्ट्रोकमा रजतमा रोकिएकी थिइन् । स्वर्णमा केन्द्रित हुने क्रममा तीन व्यक्तिगत स्पर्धा त्यागेकी उनले डुआना लामा, तिसा शाक्य र अनुसिया तण्डुकारसँगै रिले ९टिम स्पर्धा० मा तीन कांस्य पनि हात पारिन् । गुवाहाटीमा जितेको एक रजत र तीन कांस्यसहित कुल १३ पदक बनाएर उनी स्वर्गीय सुनीललाल जोशीको कीर्तिमान ९१४ पदक० नजिक पुगेकी छन् । जोशीले भारोत्तोलनका ६ संस्करणमा ५ रजत र ९ कांस्य हात पारेका थिए ।
नयाँ प्रशिक्षकको प्रभाव

यसपालिको सफलताबारे गौरिकाले भनिन्, ‘नयाँ प्रशिक्षक एडम टेयलर सँगको ट्रेनिङले यहाँसम्म आइपुगेँ ।’ ‘ए’ लेबलमा अध्ययनरत उनले करिब एक वर्षयता लन्डनस्थित क्याम्डेन स्वीस कटेज स्वीमिङ क्लबमा टेयलरसँग प्रशिक्षण लिइरहेकी छन् । रियो ओलम्पिक २०१६ मा दस हजार बढी खेलाडीमध्ये सबभन्दा कान्छी खेलाडी रहेर विश्वमै चर्चा पाएकी गौरिकाले १३ औं सागलाई केन्द्रित गरी गत सेप्टेम्बरमा तयारी थालेकी थिइन् । तर एक महिनाअघि उनको बायाँ काँधमा गम्भीर चोट लाग्यो । ‘काँधमा चोट लागेपछि उनले साग खेल्न पाउँला कि नपाउँला भन्ने भएको थियो,’ गौरिकाकी आमा गरिमा राणाले भनिन्, ‘निजी रूपमा एआई जमलसँग फिजियोथेरापी गरायौं । निजी रूपमै स्ट्रेन्थ र कन्डिसनिङका लागि ट्रेनर ओमिद गोलानीसँग काम गर्‍यौं । फिजियो, प्रशिक्षक र ट्रेनरको टिमले नै यसपालि खेल्ने वातावरण बनाइदिएका हुन् । उनले जितिन् पनि । एकदमै खुसी लागेको छ ।’

छोरीको ट्रेनिङ र खेलको व्यवस्थापन पनि गर्दै आएकी गरिमाले नयाँ प्रशिक्षकको टेक्निक, रणनीति र मेन्टल स्ट्रेन्थको कार्यक्रमले छोरीको सफलता मिलेको पनि बताइन् । ‘प्रशिक्षकको कार्यक्रम उनलाई मिलेको र सफल भएकी हो । हामीले अरूका अभिभावकले जस्तै बच्चाको चाहना पूरा गर्नलाई साथ दिएको मात्रै हो,’ उनले बताइन् । १३ औं सागको पौडीको प्रतिस्पर्धा सुरु हुनु चार दिनअघि काठमाडौं आएकी गौरिकाले आफ्नो स्पर्धालाई लिएर हरेक दिन प्रशिक्षक टेयलरसँग सल्लाह गर्थिन् र त्यसैअनुसार रणनीति बनाएर सातदोबाटोस्थित नयाँ स्वीमिङ पुल ९सर्ट कोर्स० मा पौडिइन् । लन्डनमा हुर्किरहेकी गौरिका स्कुल बिदामा स्वदेश फर्किएका बेला ११ वर्षको छँदै गौरिकाले साउन, २०७१ मा राष्ट्रिय खुला पौडीमा प्रतिस्पर्धा गर्दै आठ राष्ट्रिय कीर्तिमान बनाएर सनसनी मच्चाएकी थिइन् । त्यसयता उनले हरेकपल्ट घरेलु प्रतियोगितामा एकपछि अर्को गर्दै कीर्तिमान बनाइरहेकी छन् । यसबीच उनलाई प्रतियोगितामा सहभागी हुनबाटै रोक्नेसम्मको चलखेल पनि भयो । तर गौरिका रोकिइनन्् । उनले आफ्नो खेलमा आमाले बल गर्ने भन्दा पनि साथ दिएको बताइन् ।

‘स्वीमिङ अभ्यास गर्न भनेपछि छोरीले कहिल्यै पनि गाह्रो मानिनन्,’ सातामा १८ घण्टासम्म ट्रेनिङ गर्ने गौरिकाको पौडी प्रेमबारे गरिमा भन्छिन्, ‘सागमा नेपालका लागि स्वर्ण जित्ने उनको सपना थियो त्यो पूरा भयो ।’ नेपालले तेस्रोपल्ट आयोजना गरेको साग ९पहिला साफ गेम्स० को समापनको मार्चपासमा राष्ट्रिय झन्डा बोक्ने जिम्मेवारीसमेत पाएकी गौरिकाले भने अर्को सपना देख्न थालिसकेकी छन् । ‘पहिला ओलम्पिक २०२० लाई छनोट हुनुपर्छ । अनि ९अरू० हेर्नुपर्छ,’ उनले भनिन्, ‘सपना न हो हेर्नुपर्छ, गर्नुपर्छ ।’ नौ महिनापछि हुने ओलम्पिकको छनोटमै ध्यान केन्द्रित गर्ने उनले बताइन् । लन्डनमा कार्यरत सर्जन पारस सिंहकी छोरी गौरिकालाई यसपालि रिलेमा हात पारेको तीन कांस्य विशेष लागेको छ । ‘रिले टिमसँग एकदम राम्रो भयो किनभने हामीले १२ औं सागमा रिलेबाट मेडल जितेका थिएनौं । यसपालि हामीसँग अपेक्षा पनि थिएन । तीन कांस्य जित्यौं । यसले हामी अब अरू देशका लागि प्रतिस्पर्धी बनेका छौं ।’ उनलाई पछ्याउँदै भाइ सौरेन पनि राष्ट्रियस्तरको प्रतिस्पर्धामा ओर्लन थालिसकेका छन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्