Logo

तीन वर्षको मिहिनेत



काठमाडौँ, २५ मंसिर । ओमबहाल, काठमाडौंका सनिल शाही कक्षा १२ को परीक्षा दिएपछि फुर्सदमा थिए । टेकुको एउटा क्लबमा पुगे, जहाँ उनको ध्यान बक्सिङले तान्यो । फुर्सदको समय उपयोग गर्न बक्सिङ सिक्न सुरु गरे । खेल्दाखेल्दै पञ्चिङ ब्यागमा मुक्का बर्साउने लत नै लाग्यो । बक्सिङका प्रशिक्षक र खेलाडीसँग चिनजान पनि भयो । र, उनी मोडिए रंगशालातिर । बक्सिङ ग्लोभ्स समातेको ४ डिसेम्बरमा ठीक तीन वर्ष भएकै बेला उनले १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई स्वर्ण पदक दिलाए ।

नेपालले तेस्रोपल्ट आयोजना गरेको सागको अन्तिम दिन मंगलबार पुरुष ६० केजीमुनि रोमाञ्चक प्रतिस्पर्धामा भारतका वरिन्दर सिंहलाई ३–२ अंकले पराजित गर्दै स्वर्ण चुमेपछि सनिलले भने, ‘फुर्सदको समय खेर नफालौं भनेर बक्सिङ खेल्न थालेको थिएँ । मान्छे चिन्दै गएपछि बक्सिङमै लागें । सुरुका खेलहरू हारें । खेल्दाखेल्दै यहाँसम्म आइपुगें ।’ उनले आठौं राष्ट्रिय खेलकुदमा कांस्य हात पारेका थिए । स्वर्ण जितेका एपीएफका प्रकाश लिम्बू विदेश गएपछि त्यो स्पर्धामा भएको छनोटमा सफलता हासिल गर्दै सनिल सागमा प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेका थिए ।

उनले राष्ट्रिय टिममा छनोट भएलगत्तै झन्डै दुई महिना बैंककमा ट्रेनिङ गर्ने अवसर पाए । त्यही थाइल्यान्ड ओपन च्याम्पियनसिप खेले, जुन उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । पहिलो चरणमै चिनियाँ खेलाडीसँग पराजित भएका उनको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो १३ औं साग । सातदोबाटोस्थित कराते एकेडेमीको हलमा भएको प्रतिस्पर्धामा क्वाटरफाइनलमा भुटानका खेलाडीलाई पराजित गरेका उनले सेमिफाइनलमा जीवन्थ निकांकलाई हराएर वरिन्दर सिंहविरुद्ध स्वर्णका लागि खेल्ने पक्का गरेका थिए ।

‘भारतीय बक्सर भन्नेबित्तिकै अनुभवी हो भन्ने थाहा थियो,’ २१ वर्षे सनिलले भने, ‘उनको ९वरिन्दर० को खेल हेर्न पाएको थिइनँ तर साथीले उनको खेलको भिडियो बनाएका रहेछन् । त्यही भिडियो हेरेर फाइनललाई प्रशिक्षकसँग सल्लाह गरेर योजना बनायौं । हाम्रो योजनाअनुसारै खेल मिल्दै गयो । उनको खेल बुझ्दाबुझ्दै पहिलो राउन्डमा ढिला भयो तैपनि अन्त्यतिर प्रहार गर्न थाले । त्यो राउन्ड हारें । अनि दोस्रो चरणबाट आक्रामक खेलें । सफलता मिल्यो ।’ एसियाली बक्सिङमै भारतलाई बलियै मानिन्छ । फाइनलमा भारतीय प्रतिद्वन्द्वी सामना गर्नुपर्दाको अवस्थाबारे सनिलले भने, ‘फाइनल गाह्रै भयो तर दर्शक ‘नेपाल नेपाल’ भनेर चिच्याइरहेका थिए । कोचले पनि जसरी पनि जित्नैपर्छ भन्नुभयो । घरेलु वातावरण, परिवार र साथीभाइले साथ दिइरहेका थिए । उनीहरूलाई निराश पार्नुभएन । त्यसैले जसरी पनि जित्नुपर्छ भनी आफैंलाई पुस गरे । नतिजा राम्रो आयो ।’ उनले घरेलु रिङमा प्रतिस्पर्धा गर्दा शारीरिक अवस्था आफ्नै ठाउँमा भए पनि भावनात्मक अवसर भएको अनुभव सुनाए । नेपाली बक्सिङ टिमका मुख्य प्रशक्षिक प्रकाश थापामगरले सनिलको खेलबारे भने, ‘सुरुबाट अन्त्यसम्मै राम्रो टेक्निक, ट्याक्टिस र स्पिड देखाए । नयाँ खेलाडी भए पनि निकै राम्रो खेल प्रदर्शन गरे ।’ नेपाली टिमको प्रशिक्षकमा उज्वेकिस्तानका अलिसेर राखिमोभ पनि ७ सातायता संलग्न छन् । ‘अलिसेरको उपस्थितिले अनुभवको कमी भएको महसुस हुन दिएन । उनको रणनीतिअनुसार खेल्दा आफैंलाई अनुभवी खेलाडीजस्तो लाग्यो,’ सनिलले भने ।

सनिलले नेपाललाई १३ औं सागमा बक्सिङबाट तेस्रो स्वर्ण दिलाएका हुन् । अघिल्लो दिन मीनु गुरुङ ५४ केजीमुनि भारतकी शिक्षालाई हराएर महिला बक्सिङमा स्वर्ण जित्ने पहिलो नेपाली भएकी थिइन् । पुरुषतर्फ ६४ केजीमुनि भारतकै मनीष कौशिकलाई पन्छाउँदै भूपेन्द्र थापा सागको स्वर्ण जितेका थिए । नेपालले सागमा सन् १९९९ मा काठमाडौंमा भएको आठौं संस्करणमा स्वर्ण जितेयता पहिलोपल्ट स्वर्ण हात पारेको हो । र, सागको एउटै संस्करणमा दुईभन्दा बढी स्वर्ण जितेको यसैपालि हो । ‘स्वर्ण जित्ने लक्ष्य थियो,’ सनिलले भने, ‘प्रतियोगिता नजिकिँदै गएपछि कन्फिडेन्ट बढ्यो । हिजो हामीले २ स्वर्ण जित्यौं । आज ९मंगलबार० बिहानै पत्रिका हेरें, साथीहरूको ठुल्ठुला फोटो छापिएको रहेछ । मेरो पनि त्यस्तै फोटो आउनुपर्छ भन्ने लाग्यो । दुवै स्पर्धाको फाइनलमा भारतीय खेलाडीलाई पराजित गरेको थियो । उनीहरूले भारतलाई हरायो भने म किन सक्दिनँ भन्ने भयो । प्रयास गरे र सके पनि ।’ उनी अब ओलम्पिक २०२० को छनोट खेल्न चाहन्छन् ।

यो सागमा नेपालले बक्सिङबाट ३ स्वर्ण, ६ रजत र ६ कांस्यसहित १५ मदक जित्यो । १६ स्पर्धामध्ये ७५ केजीमुनि दीपक श्रेष्ठ यसपालि पदकविहीन हुने एक्लो बक्सर भए । फेरि एकपल्ट भारतकै वर्चस्व रह्यो । उसले १२ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो । एक स्वर्ण श्रीलंकाले हात पार्‍यो । १३ संस्करणमै समावेश बक्सिङबाट नेपालले कुल ९ स्वर्ण जितेको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्