काठमाण्डौ । चालु आर्थिक बर्षको पहिलो तीन महिनाको मात्रै तथ्याङ्क हेर्दा दैनिक ३ जना घुसखोरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताकै कारण घुस लेनदेनमा संलग्न पक्राउ परेका हुन् । तर यसरी पक्राउ पर्नेहरु साना अर्थात थोरै रकमको घुस काण्डमा संलग्न हुन् । ठूला भ्रष्टाचारका काण्डलाई भने अख्तियारले हात हाल्न डराएको देखिन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा दायर गरेको मुद्दाले के देखाउँछ भने अख्तियार सक्रिय त भएको छ तर, साना तिना घुसका विषयमा मात्रै केन्द्रित भएको छ । अख्तियारले २-४ हजारदेखि २-४ लाख घुस खाने कर्मचारीविरुद्ध उसले स्ट्रिङ अप्रेसन चलाउँदै आएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा मात्रै १०३ जनाविरुद्ध अख्तियारले स्ट्रिङ अप्रसेन चलायो । केहि खरदार, सुब्बा र अधिकृतलाई पक्राउ गर्यो । अख्तियारले गरेको यो काम हेर्दा धेरैलाई लाग्न सक्छ अख्तियार निकै सक्रिय भएछ । तर, अवस्था त्यस्तो छैन । ठूला भनिएका भ्रष्टाचार अनियमितताका घटनाका अनुसन्धानलाई भने अख्तियारले प्रभावकारी रुपमा अगाडि बढाउन सकेको छैन ।
तर अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेले २९ वर्षे इतिहासमा गतवर्ष सबैभन्दा बढी भ्रष्टाचार र अनियमिततासम्बन्धी मुद्दा दर्ता भएको भन्दै अख्तियार सफल भएको दावी गरेका छन् । अख्तियार प्रमुखले जे जस्तो दावी गरे पनि वाइडबडी विमान खरिद गर्दाको भ्रष्टाचार, बालुवाटार जग्गा प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति छानविनमा भने अख्तियार डराएको जस्तो देखिन्छ ।
किनकी यस्ता ठूला काण्डका सवालमा अख्तियार बोल्नै चाहदैन् । केवल अनुसन्धान भइराखेको छ भन्ने सदावहार जवाफ दिएर पन्छिउने गरेको छ । अख्तियारले ठूला काण्डमा अनुसन्धान अघि नबढाएकै कारण ठूला भ्रष्टचारीहरुको मनोबल बढेर गएको ट्रान्सपरेन्सी इन्टरनेश्नलका अध्यक्ष खेमराज रेग्मी बताएँछन् । नीतिगत भ्रष्टाचारको बाटो बन्द गर्नुपर्नेमा रेग्मी जोड दिन्छन् ।
धेरै ठूला भ्रष्टाचार काण्डमा अख्तियारले खुट्टा दह्रो बनाएर अनुसन्धान गर्न सकेको छैन । जसका कारण भ्रष्टाचार घट्ने भन्दा बढिरहेको छ । ठूला परियोजनामा करोडौं र अर्बौंको दोहन गर्नेहरूमाथि नजर लगाउँन नसकेको अख्तियारले नीतिगत भ्रष्टाचार तर्फ अझै ध्यान दिन सकेको छैन । ठूला भ्रष्टाचारी कै कारण भ्रष्टाचारको जालो झन झन फैलिएको छ भन्ने बुझ्दा बुझ्दै त्यसतर्फ हात अघि नबढाउनुलाई स्वभाविक मान्न सकिने अवस्था छैन् ।