Logo

श्रमदानमा लाग्यो ६० वर्षे हद



काठमाडौँ, २६ मंसिर । नाम्खा गाउँपालिका–६ लिमी हल्जीगाउँमा अहिले बाटो खन्ने काम चलिरहेको छ । स्थानीयवासीले श्रमदान पनि गरिरहेका छन् तर सोही गाउँका कुन्साङ तामाङले आफ्नै गाउँमा सञ्चालन भएको बाटो खन्ने काममा चाहना भएर पनि सहभागिता जनाउन पाउनु भएन ।

हिमालपारिको गाउँ भनेर चिनिने हुम्लाको लिमीमा ६० वर्ष उमेर कटेका नागरिकले गाउँमा सञ्चालन हुने सबैखाले सार्वजनिक काममा सहभागिता जनाउन नपाउने चलन सुरु गरिएपछि उहाँले काम गर्न नपाउनुभएको हो । घरमा चार सदस्य भएका कुन्साङ अहिले ६१ वर्ष पार गरिसकेको छ । उनकी एक छोरीमा अपाङ्गता छ भने श्रीमती र छोरा जिल्लाबाहिर छन् । त्यसैले सामाजिक काममा आफूले सहभागिता जनाउने उनको चाहना रहे पनि ६० कटेका अग्रजहरूलाई यस्ता काममा नलगाउने गाउँको सामूहिक निर्णय कुन्साङमा पनि लागू भयो । उनीहरुको निर्णय अनुसरण गर्न राजी भए। त्यसैले आफ्नो परिवार काममा सहभागी नहुँदा तोकिएको जरिवाना तिर्न राजी भएका छन् । आफ्नो काम गर्ने उमेर कटे पनि श्रीमती र छोरा काम गर्ने उमेरका रहेका तर काम गर्ने बेला गाउँमा नभएका कारण जरिवाना तिरेको उनले बताए। मानिस काम गर्नका लागि हट्टाकट्टा भए पनि ६० कटेपछि गाउँमा सञ्चालन हुने कुनै पनि सार्वजनिक काममा उनीहरूको सहभागितालाई बन्देज लगाइएको वडाध्यक्ष पाल्जोर तामाङले बताए।

यद्यपि उनीहरूलाई आफ्नो घरको काम गर्न भने कुनै बन्देज छैन । ६० वर्ष कटेका पुरुष वा महिला जो भए पनि काम गर्न नसक्ने र उनीहरूका कारण अरू काम गर्नेलाई पनि जाँगर मर्ने देखिएपछि यस्ता उमेर समूहका नागरिकलाई काममा बन्देज लगाइएको उनले जनाए। काम गराइमा एकरूपता ल्याउन र सबैले समान रूपमा काम गरून् भन्नका लागि यस्तो निर्णय गरिएको हो । लिमीका तीनवटै गाउँमा एक सयभन्दा बढी ६० वर्ष उमेर कटेका नागरिक रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए। “यो गाउँको सामूहिक निर्णय हो, यसलाई तत्काल कानुनी हैसियत दिने विषयमा हामीले सोचेका छैनौँ,” अध्यक्ष लामाले बताए। ६० वर्ष कटेका सबै नागरिक सार्वजनिक काममा सहभागिता जनाउन नपाउने उनले जनाए।

कुनै घरमा काम गर्ने उमेरका मानिस नभए केही नहुने तर भएर ताक्लाकोट वा जिल्लाबाहिर रहे कि त आउनुपर्ने नभए जरिवाना तिर्नुपर्ने चलन लिमीको फरक पहिचान भएको वडाध्यक्ष लामाले बताए। सार्वजनिक काम सुरु हुनुभन्दा केही समय अगाडि सार्वजनिक सूचना भने गरिन्छ । यसको जानकारी सबै घरधुरीलाई दिइन्छ । लिमीमा १७७ घरधुरी छन् । यसले काममा गुणात्मकता ल्याउन सहयोग पुग्ने विचार उनको छ । लिमीका तिल, हल्जी र जाङ गाउँमा यो चलन छ । पहिले नभए पनि पछि तिनै गाउँको सामूहिक निर्णयबाट यस्तो गरिएको हो ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot