Logo

छुर्पी नै छुर्पीको बजार मुडे



काठमाडौँ, २६ मंसिर । सिन्धुपाल्चोकको लिसङ्घुपाखर गाउँपालिका अन्तर्गतको मुडे बजारका सबै घर र पसलमा छुर्पी नै छुर्पी पाइने गरेको छ । मुडेमा करिब सयभन्दा बढी पसल छन् । ती सबै पसलमा लेकमा उत्पादन भएका चौँरीको दूधबाट उत्पादन भएका छुर्पी पाइन्छ । प्रत्येक पसलमा छुर्पीका लहरा नै लहरा झुन्ड्याइएको छ । जिरी, ओखलढुङ्गाबाट राजधानी जाँदै गरेका र राजधानीबाट भ्रमणमा आएकाको पहिलो रोजाइमा छुर्पी पर्ने भएका कारण मुडेका प्रत्येक पसलमा छुर्पीको लहरा र गोदाम नै पाइने गरेको छ ।

दोलखा भीमसेन मन्दिर, कालिञ्चोक मन्दिरलगायतका मन्दिर धाउने तीर्थालु र अन्तर्राष्ट्रिय फिल्म नगरीमा खरीढुङ्गा र विभिन्न पर्यटकीय क्षेत्र भ्रमणमा आएका पर्यटक मुडेको छुर्पी भनेपछि हुरुक्क हुने भएपछि बजारभरि लेकाली छुर्पी अत्यधिक मात्रमा राख्न थालिएको मुडे बजारमा छुर्पी बेचिरहनुभएका उत्तरबहादुर श्रेष्ठले जानकारी दिए। मुडेको छुर्पी धेरै स्वादिलो र मीठो भएका कारण पनि राजधानीबाट छुर्पीको अर्डर नै आउने गरेको छुर्पी व्यापारीसमेत रहेका श्रेष्ठले बताए। मुडे बजारमा दैनिक सयौँ किलो छुर्पी बिक्रीवितरण गरेर स्थानीयले मनग्गे आम्दानी हात पार्दे आएको पनि उनले बताए।

दोलखा जिल्लाको शैलुङ्गेश्वरी गाँउपालिकाको लेकाली क्षेत्रबाट चौँरीपालक किसानले शुद्ध दूधलाई फटाएर छुर्पी बनाएर मुडे बजारमा हजारौँ किलो ल्याउने गर्छन् । किसानबाट मुडे बजारका व्यापारीले सस्तोमा खरिद गरेर महँगोमा बिक्री गर्ने गरेको स्थानीय पशुपति लामाले बताए। हिमाली क्षेत्रका चौँरीले जडीबुटी खाएका कारण दूध पोषिलो हुने गरेको र सोही दूधबाट छुर्पी उत्पादन गरिएका कारण छुर्पी महँगोमा उपभोक्ताले किन्ने गरेका छन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot