Logo

पौडेललाई पेलेर अघि बढे देउवा, तरुण दलको ६ महिना म्याद थप



काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ । तर, बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिष्कार गरेको छ । महाधिवेशनको कार्ययोजना नल्याएको र बैठकको प्रमुख एजेण्डा महाधिवेशनलाई बनाउन पौडेल समूहले दिएको दबाबलाई सभापति शेरबहादुर देउवाले बेवास्ता गरेपछि पौडेल समूहले आजको बैठक बहिष्कार गरेको हो ।

पौडेल समूहको अनुपस्थितिको बावजुदपनि आजको बैठकमा उपनिर्वाचन अनुगमन समिति र केन्द्रीय प्रतिनिधिहरुबाट जानकारी एवं उपनिर्वाचनको समीक्षा, भ्रातृ सङ्घ एवम् शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदनलगायत प्रस्ताव प्रस्तुत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । त्यस्तै नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदनसम्बन्धी प्रस्ताव र कालापानी लगायतको सीमा अतिक्रमणसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिएको छ ।

साग खेलका विजेता खेलाडीमा बधाई

बैठकले हालै सम्पन्न दक्षिण एशियाली खेलकूदमा स्वर्ण लगायतका विभिन्न पदक प्राप्त गरी विजयी हासिल गरी मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न सफल सबै खेलाडीमा बधाई ज्ञापन गरेको छ । साथै नेपालको समग्र खेलकुदको प्रगति र खेलाडीहरुको व्यावसायिक जीवन सुनिश्चिताका लागि विशेष प्याकेज निर्माण गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घको हालै जेनेभामा सम्पन्न बैठकबाट कार्यकारी प्रमुखमा चितवन जिल्ला निवासी नेपाली सामाजिक अभियन्ता जगन चापागाईं निर्वाचित हुनुभएकामा बैठकले बधाई ज्ञापन गरेको छ । बैठकले धान्य पूर्णिमा, उधौली पर्व र योमरीपुन्ही पर्वले सामाजिक सद्भावना बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेको छ । तस्वीर : रोशन सापकोटा/रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot