काठमाडौँ, २७ मंसिर । काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने भएको छ । हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागेको हो ।
साइकल लेनको सञ्चालनसम्बन्धी गुरुयोजना बनाई माइतीघर–तीनकुने साढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको सुरुवात गर्न लागिएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
“कम लागत लाग्ने र धेरैले प्रयोग गर्न सकिने हुनाले यहाँबाट साइकल लेन सञ्चालनको सुरुवात गर्न लागेका छौँ”, उनले भने, “सहरी योजनाको सिद्धान्तअनुरूप साइकल लेन र पैदलमार्ग व्यवस्थित गर्नेछौँ । ” अहिले भएको साइकल लेनको उचित प्रयोगको वातावरण सिर्जना गरी भविष्यमा साइकल लेनको थप सञ्जाल विकास गर्ने गुरुयोजना तयार पारिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए। विद्यमान सडकमा साइकल लेनको डिजाइन र निर्माण नै त्रुटिपूर्ण हुँदा साइकल यात्रीलाई अवरोध मात्र सिर्जना भएको छैन, माइतीघर–तीनकुने सडकमा साइकल लेन छ भन्ने पनि सर्वसाधारणलाई थाहा छैन । मुख्य सडकको सतहभन्दा अलि माथि उठेको ट्याक्टाइल पेभिङसहितको बाटोमा अहिले पैदलयात्रु हिँड्छन् । त्यही नै यो सडकको साइकल लेन हो ।
यसको निर्माणको त्रुटि र प्रवद्र्धनको अभावका कारण साइकल लेनको अस्तित्वबारे कसैलाई थाहा नभएको नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नमान श्रेष्ठ भने। यही त्रुटिपूर्ण साइकल लेनलाई पनि सच्याएर साइकलमैत्री बनाउन सकिने भएकोले यसको सञ्चालनका लागि प्रयास गरिएको उनको भनाइ छ । यो साइकल लेनको प्राविधिक खाका नेपाल साइकल सोसाइटीले गरेको छ । साइकल लेनसँगैको पैदलमार्गको व्यवस्थापन र सौन्दर्यीकरणको खाका काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सले तयार गरेको छ । माइतीघर–तीनकुने सडकको दुईतर्फ गरी पाँच किलोमिटर साइकल लेन सुधार र व्यवस्थान चाँडै सुरु गरिने महानगरले जनाएको छ । उक्त साइकल लेन निर्माणका लागि तीन करोड रुपियाँ लागत अनुमान गुरुयोजनाले गरेको छ । अवरोध नै अवरोध सहरी योजना आयोगका लागि साइकल लेनको गुरुयोजना निर्माणपूर्व नेपाल साइकल सोसाइटीले माइतीघर–तीनकुने सडकखण्डमा रहेको साइकल लेनको विद्यमान अवस्था अध्ययन गरेको थियो । अध्ययनमा साइकल लेन प्राविधिक रूपले साइकलमैत्री नभएको पाइएको नेपाल साइकल सोसाइटीका आर्किटेक्ट सोमराज रानाले जानकारी दिए।
उहाँका अनुसार भएको साइकल लेन पैदल यात्रीले प्रयोग गरिरहेका छन् । पैदलयात्रीका लागि छुट्याइएको बाटोमा भने गाडी तथा मोटरसाइकल पार्किङ गरिएको छ । साइकल लेनमा विभिन्न प्रयोजनका खम्बा, बिजुलीका पोल, प्रदूषण मापन गर्ने मेसिन, खाल्डाखुल्डी जस्ता अवरोध नै अवरोध छन्, जसका कारण साइकलयात्रीले यो लेन प्रयोग गर्न सक्ने अवस्था छैन । त्यस्तै साइकल लेनको निरन्तरता पनि विभिन्न ठाउँमा टुटेको छ । बुद्धनगरमा बनेको आर्क ब्रिज भएको स्थानमा साइकल लेन छैन । सहायक सडक, चोक र चौबाटाहरूमा पनि साइकल लेनको निरन्तरता टुटेको देखिन्छ । त्यस्तै पैदलयात्री र बसस्ट्याण्डहरूले साइकललाई अवरोध गरिरहेको देखिन्छ । अब साइकल लेन बनाउँदा यी सबै संरचनागत त्रुटि सच्याएर निर्माण गरिनुपर्ने आर्किटेक्ट रानाको सुझाव छ । थाहा छैन साइकल लेन नेपाल साइकल सोसाइटी, काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टस र जर्मन अभियन्ता एरिक हकम्यानले गुरुयोजना निर्माणका लागि गरेको अध्ययनमा माइतीघर–तीनकुने सडक खण्डमा प्रतिघण्टा ४६ वटा साइकल गुड्छन् । यो सडकखण्डमा गुड्ने ९४ प्रतिशत साइकलयात्री नियमित साइकल यात्रा गर्छन् । तर ७८ प्रतिशत साइकलयात्रीलाई साइकल लेनबारे थाहा नभएको अध्ययनमा उल्लेख छ । त्यसकारण ७६ प्रतिशत साइकल यात्री मुख्य लेनमै आफ्नो साइकल गुडाउँछन् । अध्ययनले साइकल लेनलाई अवरोधरहित, देखिने खालको बनाउन सुझाव दिएका छन् ।
प्रमुखको प्रतिबद्धताको खोजी काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तह चुनावमा काठमाडौँलाई साइकल सिटी बनाउने कार्यसूची अगाडि सार्नुभएको थियो । त्यही बेला नै उहाँले हाल तीनकुने, माइतीघर मण्डल, एयरपोर्ट, सिनामङ्गलमा बनेका साइकल लेनको कमी कमजोरी सुधार गरेर पूर्णरूपमा व्यवस्थित साइकल लेन बनाउने घोषणा गर्नुभएको थियो । साइकल सिटीको अवधारणा पूरा गर्न चुनावी घोषणापत्रमा उल्लेखित साइकल बोर्ड गठनको विषयमा अन्योलमा छ । युरोपको एम्स्टरडाम र कोपेनहेगन जस्तै काठमाडौँलाई एसियाको साइकल सिटीको रूपमा पहिचान गराउने घोषणा चुनावताका मेयर शाक्यले गर्नुभएको थियो । भित्री तथा बाहिरी सडकहरूलाई साइकल लेनले जोड्नेदेखि टोलटोलमा साइकल स्ट्याण्ड र साइकल क्लबहरू निर्माण गर्नेजस्ता एजेन्डा अघि सारेर निर्वाचित भए पनि झण्डै आधा कार्यकाल सकिँदासम्म पनि साइकल प्रवद्र्धनका क्षेत्रमा आशलाग्दो काम केही भएको छैन ।
गोरखापत्र दैनिकबाट