काठमाडौं,मंसिर २७ । सरकारले एकै दिन करिब ४१ अर्ब रुपैयाँ वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ। यसबाहेक १२ अर्ब ५२ करोड सहुलियतपूर्ण ऋण प्राप्त गर्न वार्ता टोली गठन गरिने भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ५ क्षेत्रका लागि ४० अर्ब ८७ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै ऋण स्वीकार गरेको जनाएको छ। सरकारले वाग्मती नदी तटीय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंक एडीबीबाट करिब ७ अर्ब १२ करोड रुपैयाँ ऋण अन्तर्गत स्वीकार गर्ने निर्णय गरेको छ।
यस्तै एडीबीबाटै पृथ्वी राजमार्गको मुग्लिङ(पोखरा सडक सुधारका लागि सासेक राजमार्ग सुधार आयोजना अन्तर्गत २१ अर्ब ४५ करोड, ग्रामीण उद्यम वित्तीय आयोजनाका लागि ५ अर्ब ६५ करोड र खाद्य सुरक्षा तथा कृषि व्यापारीकरण कार्यक्रमका लागि ५ अर्ब ६५ करोड रुपैयाँ ऋण स्वीकार गर्ने भएको छ।अन्नपूर्ण पोस्ट्बाट