काठमाडौं, २७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको प्रतिवेदन तयार पारेका छन् । दुई दिन गुप्तवास बसेर उनले प्रतिवेदन तयार पारेको उनीनिकट स्रोतले जनाएको छ । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्रतिवेदन तयार पारेका हुन् ।
कार्यकारी अध्यक्षको महत्वपूर्ण जिम्मेवारी पाएपछि दाहालले आफूलाई पार्टीभित्र सक्रिय बनाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा उनले दुई पटक सचिवालय बैठकसमेत बोलाईसकेका छन् । आजपनि सचिवालय बैठक बोलाईएको थियो । तर, स्थायी समितिको बैठकमा पेश गर्नेगरि तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिनको लागि उनी यतिवेला बरिष्ठ नेता माधव कुमार नेपालसँग आन्तरिक छलफलमा व्यस्त छन् ।
नेता नेपालले अध्यक्ष दाहाललाई पार्टीको पोलिटब्यूरो गठनको लागि पनि आग्रह गरेका छन् । १ वर्षपछि बस्न लागेको स्थायी समिति बैठकमा पार्टी विधान संशोधनको प्रस्ताव राख्ने तयारी छ।
प्रचण्डले पार्टीको कार्य्दिशा परिवर्तन गर्ने र उपाध्यक्ष पद थप्ने गरी विधान संशोधनको प्रस्ताव ल्याउन लागेको बताइएको छ। सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाईने भएको छ । उनको लागि पनि विधान संशोधन अनिवार्य छ । File Photo