Logo

नारायणी नदीमा सेनाको जलउद्धार अभ्यास



चितवन, २८ मङ्सिर : नारायणी नदीमा नेपाली सेनाले जलउद्धार अभ्यास तालीमको प्रदर्शनी गरेको छ । नेपाली सेना श्री नम्बर २ विपद् व्यवस्थापन गण रसौली चितवनले तालीम प्रदर्शनी गरेको हो । श्री विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गतका फौजको क्षमता विकास अभिवृद्धिका साथै समूहगत कार्य गर्ने परिपाटीको विकास गर्ने उद्देश्यले जलउद्धार अभ्यास गरिएको गणले जनाएको छ ।

सो अवसरमा नदीमा डुङ्गा पल्टेर डुबेकाको उद्धार कसरी गर्ने भन्नेबारेमा प्रदर्शन गरिएको थियो । प्रदर्शनमा मोटरबोट, जेटबोट र ¥याफटिङबोट प्रयोग गरिएको थियो । छ दिनसम्म भएको उक्त तालीमको समापन शुक्रबार गरिएको हो । तालीममा श्री विपद् व्यस्थापन तालीम शिक्षालय श्री नम्बर १ विपद् व्यवस्थापन गण र श्री नम्बर २ विपद् व्यवस्थापन गणका ३५ सेनाको सहभागिता रहेको श्री नम्बर २ विपद् व्यवस्थापन गणका गणपति राजेन्द्र पराजुलीले बताए ।

उक्त प्रदर्शनमा प्रशिक्षार्थीले फ्लिप ड्रिल, अण्डर वाटर क्रसिङ, ओ बी एम ¥याफटिङ बोटद्वारा अभ्यास गरेका थिए । तालीमको समापनका अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई विपद्मा प्रयोग गरिने विभिन्न आधुनिक उपकरणबारे जानकारी गराइएको थियो । सो अवसरमा विपद्का बेला उद्धार गर्ने सम्बन्धमा पूर्वअभ्यास देखाउने, नदीमा बगेको मानिसलाई कसरी उद्धार गर्ने भन्ने विषयमा प्रदर्शर्नी गरिएको र विपद् व्यवस्थापन गणसँग भएका उद्धार सामग्रीको प्रदर्शनीसमेत भएको गणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot