Logo

अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण



२८ मङ्सिर  : अफगानिस्तानको पूर्वीभागमा रहेको प्रान्त नान्गाहारमा इस्लामिक स्टेट्स (आइएस) समूहका एक दर्जन भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन् ।सो प्रान्तमा रहेका आइएस र तालिबानी लडाकूविरुद्ध विशेष सुरक्षाबलले सुरक्षा कारबाही जारी राखेकै बेला १३ आइएस सदस्यले आत्मसमर्पण गरेका हुन् ।

सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार आइएस लडाकूका कमाण्डरसहित कम्तीमा १३ जनाले आत्मसमर्पण गरेका हुन् । स्थानीय कमाण्डरसहित १३ जना लडाकूले दक्षिणतर्फ पर्ने सो प्रान्तमा रहेको सेनाको एक ब्यारकेमा आएर आत्मसमर्पण गरेको सुरक्षा अधिकारीले जनाएका छन् ।

अफगान सेनाद्वारा जारी विज्ञप्तिमा बाँकी आइएस सदस्यले पनि आत्मसमर्पण गर्ने तयारी गरेको सूचना सरकारलाई प्राप्त भएको जनाएको छ । लडाकूहरुलाई आत्मसमर्पण गर्ने बाहेकको अर्काे कुनै पनि विकल्प नभएको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत हप्तामात्र पनि उक्त क्षेत्रमा केही लडाकूले सुरक्षाबलसमक्ष आत्मसमर्पण गरेका थिए । सो आतङ्ककारी समूहमा लागेका महिला तथा केही बाल सैन्यसमेत गरी ६५० भन्दा बढीले गत हप्ता आत्मसमर्पण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्