काठमाण्डौ । भोलि बस्ने नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गर्ने भएका छन् । आज सभापति शेरबहादुर देउवा पौडेल निवासमै गएर छलफल गर्दा पनि सहमति नजुटेपछि पौडेलले बैठक छल्न लागेका हुन् ।
पौडेल आजै आफू विराटनगर पुगेको जानकारी दिएका छन् । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले आजै देउवा पक्षधर नेता तथा उपसभापति मिनेन्द्र रिजालसँग कुरा गरेका थिए । रिजाल र निधीबीचको कुराकानीमा पनि सहमति नजुटेपछि आफूहरुले भोलिको बैठक बहिस्कार गर्न लागेको रिजालले जानकारी दिए ।
पौडेल पक्षले १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन दबाब दिइरहेको छ । देउवा भने प्रक्रिया पुर्याएर कार्यतालिका ल्याउने भनिरहेका छन् । तर विभिन्न भातृ संगठनभित्रको समस्या समाधान पहिला कि कार्यतालिका पहिला भन्नेमा कुरा मिलेको छैन ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कात्तिक मसान्तसम्म समायोजनको काम सक्ने र मंसिरमा महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय गरेको थियो । राधेश्याम अधिकारी नेतृत्वको कांग्रेसले बनाएको निर्वाचन समितिले २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकीकरणमा आएको लोकतान्त्रिक फोरम र अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई समायोजन गर्ने काम सकेपछि महाधिवेशनको कार्यतालिका ल्याउने सभापति शेरबहादुर देउवाले बताएका थिए ।
तर वरिष्ठ नेता पौडेल पक्षले भने समायोजको बहानामा कार्यतालिकामा ल्याउन अलमल गर्न नहुने अडान लिइरहेको छ । सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो । तर, देउवाले बैठकमा २८ विभागलाई बढाएर ४१ र्पुयाउने प्रस्ताव पेस गरे ।
पौडेल पक्षको बहिष्कारबीच सभापति देउवाले बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेका थिए । ती एजेण्डामाथि छलफल गर्न आइतबार केन्द्रीय समिति बैठक बोलाइएको छ । त्यसअघि नै सभापति देउवाले नेता पौडेललाई भेटेर सहमति खोज्ने प्रयास गरे पनि सहमति नभएपछि पौडेल पक्षले फेरी बैठक बहिस्कार गर्न लागेको हो ।