काठमाडौँ, २९ मंसिर । शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन् । सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन् । रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । अर्को घरमा लगेर राखे ।
शंकास्पद वस्तुबारे महेन्द्रनगर इलाका प्रहरीमा खबर गरियो । प्रहरी नआउँदासम्म परिवारका सबै सदस्य शंकास्पद वस्तुबाट टाढै बसे । प्रहरी निरीक्षक अमिरकुमार दाहाल नेतृत्वमा चार सुरक्षाकर्मीको टोली घटनास्थलमा आएको थियो । त्यस बेलासम्म राजेशले बुवा भिखारी साहलाई फोन गरी घरमा बोलाएका थिए । भिखारी पुख्र्यौली घरमा बस्दै आएका छन् । ‘इन्स्पेक्टर साबले भन्नुभो– झोलामा केही छैन, तर्साउनका लागि केही राखेको होला’, उनले भने, ‘त्यसपछि झोला हटाउन खोज्दा एक्कासि पड्कियो । म बेहोस भएँ ।’ धनुषाको क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगर कुसाई टोलमा प्रहरीको कमजोरीले बम विस्फोट भयो । बाबुछोरासहित तीन जनाले ज्यान गुमाए । घरधनी ४५ वर्षीय राजेश, उनका छोरा १५ वर्षीय आनन्दको घटनास्थलमै मृत्यु भएको हो । बमलाई ‘सामान्य वस्तु’ ठानेर चलाएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो ।
राजेशका बुवा ७० वर्षीय भिखारी, छोरी १९ वर्षीया निकी भनिने अञ्जलीकुमारी, कान्छो छोरो १२ वर्षीय प्रकाश भनिने प्रेम र प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएको धनुषा जिल्ला प्रहरीले जनाएको छ । यस्तै, स्थानीय सविता खातुन र अकबर मन्तुरी सामान्य भएका छन् । भिखारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । तीन जनालाई धरान पठाइएको छ । ‘प्रहरी आउनुअघि परिवारका सबै सदस्य घरबाहिर थिए’, स्थानीय विष्णुदेव महतोले भने, ‘तर, प्रहरीले शंकास्पद वस्तु हानिकारक नरहेको भनेपछि भित्र पसे । इन्स्पेक्टर सरले झोला उठाउनेबित्तिक्कै विस्फोट भयो ।’ परिवारका सदस्यमध्ये अञ्जु मात्रै सकुशल छिन् । स्थानीय सुजित महतोले सिमसिम पानी र चट्याङ पर्दै गरेका बेला ठूलो आवाजमा विस्फोट भएको बताए । ‘सिमसिम पानी परिरहेको थियो । चट्याङ पर्दै थियो’, उनले भने, ‘बम विस्फोट हुँदा हामीले त चट्याङ लागेको भन्यौं । पछि घरछेउमै बम विस्फोटपछि क्षतविक्षत अवस्थामा मानिसहरू ढलेको देख्यौं ।’ बम झुन्ड्याइएको ग्रिल, घरको छाना, झ्यालको सिसा, शौचालयको ढोका, पक्की भित्तामा विस्फोटबाट क्षति पुगेको छ ।
राजेश औषधि पसल सञ्चालन गर्दै आएका थिए । उनी यो क्षेत्रका नाम चलेका ‘महाजन’ थिए । उनले ब्याजमा ऋण दिन्थे । १५ वर्षभन्दा बढी समयदेखि ऋण कारोबार गर्दै आएका राजेशले सम्पत्ति पनि ‘रामै्र’ जोडेका थिए । महेन्द्रनगरमै पुख्र्यौली घर भए पनि पछिल्लो पाँच वर्षमा उनले दुइटा थप किनेका थिए । उनले ब्याजकै पैसाबाट डेरी उद्योगसमेत सञ्चालन गरेको स्थानीय बताउँछन् ।
अन्नपूर्ण पोष्ट्बाट