Logo

‘वेदको सामान्यज्ञान’ पुस्तक सार्वजनिक



काठमाडौँ, २९ मङ्सिर : जरोकिलो प्रतिष्ठान नेपालले ‘वेदको सामान्यज्ञान’ नामक पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा जरोकिलो प्रतिष्ठानका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीले लेखेको कृति नेपालीमा अनुवाद गरेका आचार्य तिलकप्रसाद लुइँटेलले लोकार्पण गरेका छन् ।

पुस्तक लोकर्पण गर्दै वेद अनुवादक लुइँटेलले वेदका बारेमा जानकारी लिन चाहने सर्वसाधारणका लागि पुस्तक प्रवेशविन्दु भएको बताए । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले वेदमा सबै कुरा छ भनिए पनि यसमा भएको वैज्ञानिक पक्षका बारेमा चर्चा हुनुपर्नेमा जोड दिए । वेदमा भएका ज्ञानको विषयगत पुस्तक प्रकाशन हुनुपर्ने उनको भनाइ थियो । प्रा डा आनन्दप्रसाद घिमिरेले लोकार्पित पुस्तकले सामान्य पाठकलाई पनि वेदका बारेमा जानकारी राख्न सघाउने बताए । डा गोविन्दशरण उपाध्यायले पछिल्लो समय वेदका बारेमा सर्वसाधारणमा बढेको जिज्ञासाको समाधान पुस्तकले गर्ने विश्वास व्यक्त गरे ।

पुस्तकका लेखक अधिकारीले विभिन्न माध्यमबाट वेदबारेमा सयौँ प्रश्न सोधिने गरेकामा सबैको प्रतिनिधि ३० प्रश्नको उत्तर समेटेर पुस्तक तयार पारिएको बताए। पुस्तकमा नेपाली, हिन्दी तथा अङ्ग्रेजीमा उपलब्ध सन्दर्भ सामग्रीको अधिकतम् प्रयोग गरिएको छ। आगामी दिनमा उपनिषद्, पुराणलगायत स्मृति गन्थको पनि समान्यज्ञान प्रकाशन हुने लेखक अधिकारीको प्रतिबद्धता थियो ।

वाल्मीकि विद्यापीठका सहप्राध्यापक माधवप्रसाद पाण्डेयले वेदमा सबै ज्ञानको सार समेटिएको बताउँदै वर्तमान समयमा वेदको वैज्ञानिक पक्षमा धेरै जिज्ञासा भएकाले यस विषयमा छुट्टै पुस्तक आवश्यक भएकामा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्