काठमाडौँ, ३० मंसिर । सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर दोङखोरियामा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण भइरहेका छन् । केही वर्ष अघिसम्म सिसौले भरिएको पलोट क्षेत्रमा अहिले घर निर्माण गर्नुका साथै मकै, तोरी, बेसार लगायतका बाली र तरकारी खेती भइरहेको छ ।
फूलजोर बाबा साझेदारी वन क्षेत्रको पलोट चौडीमा पक्की घरसमेत निर्माण गरी व्यापार व्यवसाय सञ्चालन भइरहेका छन् । स्रोतका अनुसार आपसमा घरायशी कागज बनाएर उक्त जग्गा खरिद बिक्री नै भइरहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फूलजोर चोकबाट नौ किलोमिटर उत्तरमा पर्ने कालिन्जोरको दोङखोरिया क्षेत्रमा स्थानीय केही परिवार र छिमेकी गाउँ देउराली, झरझरा लगायतका क्षेत्रबाट आएका व्यक्तिले वनको जग्गा अतिक्रमण गरी घरटहरा निर्माण गरी खेतीपाती गर्दै आएका हुन् । वन अतिक्रमण गरेर बसेकै बस्तीमा नगरपालिकाले गत वर्ष नाला निर्माण गरेको छ । त्यस गाउँमा बिजुलीको सुविधा पनि पुगेको छ । केही वर्षअघि तत्कालीन जिल्ला वन कार्यालयले सुरक्षाकर्मीको सहयोगमा वन अतिक्रमण गरी बनाइएको संरचना भत्काउनुका साथै बालीनाली नष्ट गरेको थियो । तर पछिल्लो समय अतिक्रमण क्षेत्र खाली गराउन चासो दिइएको छैन । बस्ती विस्तार हुँदै जाँदा थप वन अतिक्रमणमा पर्दै गएको छ । सुरुमा केही घर निर्माण गरिएका भए पनि अहिले बाक्लो बस्ती बसेको छ ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले वनको जग्गा किनबेच गर्नु गैरकानुनी कार्य भएको बताउनुभयो । उहाँले यस बारेमा तत्कालै आफू त्यहाँ गएर बुझ्ने समेत बताउनुभयो । ‘सुकुम्बासीको नाममा हुकुम्बासीले वन अतिक्रमण गरेको सूचना हामीलाई आइरहेको छ, तत्कालै अन्य निकायसँग समन्वय गरी त्यस्तो गैरकानुनी कार्य रोक्छौँ’– डिभिजन वन प्रमुख देवले भने । सर्लाहीमा पछिल्लो समय संरक्षण र कडाइका साथ रेखदेख नहुँदा फूलजोर बाबासहित केही साझेदारी वनमा तस्करी बढेको छ । वन रक्षकको आँखा छलेर तस्करले सरकारी वनबाट काठ तस्करी गर्दा वन क्षेत्र उजाड बन्दै गएको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त
गरेका छन् ।
गोरखापत्र दैनिकबाट