काठमाडौं, ३० मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपाले अमेरिका र चीन आपसमा टकराइरहेका कारण नेपालमा चुनौती बढेको भन्दै चिन्ता व्यक्त गरेको छ। पार्टी स्थायी कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई र संयुक्त राज्य अमेरिकाले अघि सारेको अमेरिकी रक्षा नीति ‘इन्डो प्यासिफिक स्ट्राटेजी’का कारण नेपाललाई चुनौती थपिएको उल्लेख गरिएको हो।
‘आज चीनले अघि सारेको बीआरआई र संयुक्त राज्य अमेरिकाले विकसित गरिरहेको इन्डो प्यासिफिक रणनीति आपसमा टकराइरहेका छन्। आफ्नो अति महाशक्तिको स्थिति कायम राख्ने संयुक्त राज्य अमेरिकाको चाहना र त्यसको प्रतिवाद गरी आफूलाई विश्व अर्थतन्त्र र शक्तिको केन्द्र बनाउने चिनियाँ रणनीतिका वरिपरि विश्वको राजनीति घुम्न थालेको छ। दक्षिण एसिया र नेपालको भूराजनीतिक अवस्थितिको संवेदनशीलताका कारण उपरोक्त विश्व राजनीतिक परिस्थितिका संकेतले एकैसाथ हाम्रा अगाडि चुनौती र सम्भावना बोकेर आएका छन्,’ अन्तर्राष्ट्रिय परिस्थिति संकेत र हाम्रो दायित्व शीर्षकमा सो कुरा उल्लेख गरिएको छ। एक वर्षपछि बसेको स्थायी कमिटी बैठकले वित्तीय पुँजीवादले तेस्रो मुलुकका जनतामा धार्मिक साम्प्रादायिक र जातीय विद्वेष फैलाउने काम गरिरहेको उल्लेख गरिएको छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रूपमा प्रस्तुत गरिएको छ। ‘कृषि र औद्योगिक उत्पादनबाट विस्थापित गरी बलिया बहुराष्ट्रिय निगमका बजारमा परिणत गर्न तेस्रो विश्वका देशको युवा श्रमशक्तिलाई सस्तोमा खरिद गरेर ती देशहरूलाई विप्रेषणमा बाँच्न बाध्य पार्न जनताहरूमा जातीय, क्षेत्रीय र धार्मिक साम्प्रदायिक विद्वेष र द्वन्द्व सिर्जना गरी राष्ट्रिय एकता र स्वाधिनतालाई समाप्त पार्ने षड्यन्त्र आदिका रूपमा वित्तीय एकताधिकार पुँजीवाद देखापरिरहेको छ,’ सो प्रतिवेदनमा भनिएको छ। विश्व एकाधिकारवाद र पुँजिवादले तेस्रो विश्वका युवामा श्रम शक्तिमा ह्रास आएको पनि उल्लेख गरिएको छ। आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, सरकारको कामको समीक्षा र पार्टीको कार्यायोजना समेटिएको छ। सो प्रतिवेदनमा २०७७ सालको अन्तिमसम्ममा पार्टीको महाधिवेशन गरिसक्ने लक्ष्य प्रस्तुत गरिएको छ।
प्रतिवेदनमा हाल सालै भारत सरकारले प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र, लिपु लेक र सीमा नदी महाकालीको महान लिम्पियाधुरालाई समेत आफ्नो भूभागमा राखेको कुरामा नेपालका सबै राजनीतिक दल, नेपाल सरकार, बौद्धिक र विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असैह्य भएको तथ्य प्रकट भइ सकेको उल्लेख गरिएको छ। ‘हाम्रो पार्टी, सरकार र आमनेपाली जनताले तत्काल राजनीतिक र कूटनीतिक सम्वादमार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमिबाट भारतीय सेना हटाउन नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ। हाम्रो पार्टी र सरकारले सुगौली सन्धीअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदीपूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ,’ सो प्रतिवेदनमा भनिएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्यका कारण अनुपस्थित थिए। बैठकले उनको स्वास्थ्य लाभको कामना गरेको थियो।
नागरिक दैनिकबाट