Logo

ठगिएको रकम फिर्ता लिन चार वर्षदेखि भौतारिँदै



खोटाङ, मंसिर ३० । कतारमा चिनजान भएका साथी चन्द्रमणि राईले सापटी मागेपछि खोटाङ केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका नरभक्त राईले सहजै पैसा दिए। तर प्रवासमै दुई महिनाका लागि सामान्य कागज गरेर साथीलाई दिएको चार हजार चार सय कतारी रियाल नरभक्तले पाँच वर्ष पुग्न लाग्दासमेत फिर्ता पाउन सकेका छैनन्। पत्नी र छोरी सिकिस्त बिरामी भएर अस्पतालमा छट्पटाइरहेको भन्दै सहयोगका लागि बेडमा सुतिरहेको तस्बिर देखाएर २०१५ फेब्रुअरी १४ का दिन नरभक्तबाट पैसा सापटी लिएका चन्द्रमणि हाल सम्पर्कविहीन छन्।

हालको नेपाली रुपैयाँ करिब एक लाख ३० हजार सापटी लिएपछि सम्पर्कविहीन बनेका चन्द्रमणिबाट पैसा फिर्ता लिन सकस परिरहेको नरभक्तले गुनासो गरे। ‘बिरामी महिला र बच्चाको फोटो देखाएपछि समस्या परेको होला भन्ठानेर सहयोग गरें,’ नरभक्तले भने, ‘अप्ठेरो पर्दा सहयोग गरेको थिएँ। भाका पुगेपछि माग्न थालेको पाँच वर्ष भयो, तर पैसा फिर्ता पाएको छैन।’

वैदेसिक रोजगारीका सिलसिलामा नरभक्त जिएसएस सेक्युरिटी कम्पनीमार्फत सन् २०१३ मा कतार पुगेका थिए। उनीभन्दा केही वर्षअगाडि नै कतार पुगेका चन्द्रमणि र नरभक्तबीच कतारमै चिनजान भएको थियो। परिचयका क्रममा चन्द्रमणिले पनि आफ्नो घर खार्ताम्छा भएको बताएपछि उनीहरूबीच ‘गाउँले’ को सम्बन्ध गाँसिएको थियो। त्यही चिनजानको आधारमा विश्वास गरेर चन्द्रमणिलाई पैसा सापटी दिएको नरभक्तले बताए। तर दुई महिनाका लागि दिएको सापटी पैसा फिर्ता लिने उनको प्रयास पाँच वर्ष पुग्दासमेत पूरा हुन सकेको छैन। गत असोजमा घर फर्किएका उनी हाल पैसा सापटी दिने क्रममा गरिएको कागज बोकेर चन्द्रमणिको खोजीमा हिँडिरहेका छन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्