काठमाडौँ, १ पुस । उपत्यकामा हिउँदे पानी परेसँगै अत्यधिक चिसो बढेकोे छ । चिसो बढेसँगै यसबाट प्रत्यक्ष असर बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने हुनाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । ज्येष्ठ नागरिक तथा बालबालिकाहरू जाडो मौसममा बढी पीडित हुने भएकाले उनीहरूलाई जाडोबाट बचाउन चिकित्सकले सुझाव दिएका हुन् । अत्यधिक चिसोले ज्येष्ठ नागरिक र बालबालिकामा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मिया लगायतका रोग लाग्ने भएकाले उनीहरूलाई चिसो मौसममा जोगाउनुपर्ने चिकित्सकको भनाइ छ ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योतिरत्न धाख्वाले पहिलेजस्तै गरी बालबालिकालाई चिसो मौसममा छाड्न नहुने बताए । उनले अत्यधिक चिसोले गर्दा बालबालिकालाई निमोनिया, श्वासप्रश्वास, हाइपोथर्मिया लगायतका रोगले आक्रमण गर्ने हुनाले सतर्क रहन आग्रह गरे। बालरोग विशेषज्ञ डा.धाख्वाले बालबालिकालाई बाक्ला कपडा लगाइदिनुपर्ने बताए। उनले उपत्यकामा भन्दा तराईमा जाडोसँगै शीतलहरसमेत पर्ने भन्दै तराईमा बसोबास गर्नेले जाडो तथा शीतलहरबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने बताए । डा. धाख्वाले जाडो मौसमसँगै सामान्य मानिसलाई समेत विभिन्न रोगले सताउने भएकाले मानिसमा तापक्रममा आएको कमीले रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी असर गर्ने बताए। उनले बढी चिसोका कारण हाइपोथर्मिया भएर मानिसको मृत्यु हुनसक्ने भन्दै जाडो मौसमका रोगबाट बच्न बाक्लो कपडा लगाउनुका साथै न्यानो ठाउँमा बस्ने, हिटर ताप्ने, आगो ताप्ने गर्नुपर्छ भने।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा परोपकार स्त्री तथा प्रसूति अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले सुत्केरी महिला पनि जाडोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो । उनले सुत्केरीसँगै उनीहरूका भर्खर जन्मिएका सन्तान पनि जाडोको जोखिममा रहेकाले सधैँ न्यानोमा राख्न सल्लाह दिए। उनले नवजात शिशु तथा आमाहरूको चिसोका कारण हुने हाइपोथर्मियाबाट मृत्युसमेत हुने गरेको जानकारी दिँदै चिसोबाट बच्नुपर्ने बताए। उनले जाडोमा बालबालिकामा दम, निमोनिया, रुघाखोकी, ज्वरो, टन्सिल, डायरिया, भाइरल ज्वरो, पिनास, ब्रोनक्राइटिसलगायतका रोग लाग्ने बताए। भर्खर जन्मेका शिशुमा निमोनिया, ब्रोनक्राइटिसलगायतका समस्या हुने भन्दै उहाँले बालबालिकालाई चिसोमा जथाभावी खेल्न नदिने, न्यानो कपडा लगाइदिनुपर्ने बताए । कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी विच्छा भने, “चिसोबाट बालबालिका सबैभन्दा बढी जोखिममा हुन्छन् । चिसोबाट बच्न शारीरिक व्यायाम गर्ने, बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोमा नराख्ने, बाक्लो लुगा लगाइदिने, मादक पदार्थ सेवन नगर्ने, प्रशस्त पानी पिउने, बच्चालाई मोटरसाइकलमा नचढाउने, तातो खानेकुरा खानुपर्छ । ’’ उनले चिसो मौसममा निमोनिया, ज्वरो, घ्यारघ्यारजस्ता समस्या लिएर बालबालिका अस्पताल आउने गरेको बताए।
बाल अस्पतालमा मात्र होइन आयुर्वेदिक औषधालयमा समेत त्यत्तिकै मात्रामा बालबालिका चिसो मौसमका कारण लाग्ने रोग लिएर जाने गर्छन् । बैरेनी आयुर्वेद औषधालय धादिडका प्रमुख कविराज नारायण पौडेलले आयुर्वेद औषधालयमा दैनिक पाँच बालबालिका निमोनिया, रुघा, ज्वरो, खोकीको समस्या लिएर आउने गरेको जानकारी दिए। उनले ती बालबालिकालाई कस्तुरीभूषण, मिर्गमलाम, कफप्लेटजस्ता औषधि दिने गरेको बताए। ती औषधिले एलोपेथिक जस्तो असर नगर्ने उनको भनाइ छ । उनले चिसो मौसममा निमोनिया, श्वासप्रश्वास, दम, रुघाखोकी, ग्यास्ट्रिक लगायतका रोगले सताउने हुनाले न्यानो ठाउँमा मात्र बस्न सुझाव दिए । कान्ति बाल अस्पतालका निर्देशक डा. बिच्छाले वयस्कहरूलाई चिसो मौसममा सामान्य रुघाखोकीले मात्र सताउने हुँदा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। तर ज्येष्ठ नागरिक तथा बालबालिकालाई भने चिसो मौसममा लाग्ने रोगले बढी सताउँछ । उनले जाडो मौसममा गाउँघरतिर आगो बालेर बस्नाले पनि रोगहरू निम्त्याउने बताए । कविराज पौडेलले चिसो मौसममा लाग्ने रोगबाट बच्न घरेलु उपायहरू पनि अपनाउन सकिने बताए। उनका अनुसार चिसो मौसममा न्यानो लुगा लगाउने, तातो खाना खाने, बच्चालाई न्यानो ठाउँमा राख्ने गर्नाले रोग लाग्नबाट बचाउन सकिन्छ । उनले चिसोले निमोनिया, रुघाखोकी, दम, श्वासप्रश्वास, ग्यास्ट्रिक लगायतका रोग निम्त्याउने भन्दै धुवाँधुलोबाट बच्न सक्नुपर्ने बताए ।
गोरखापत्र दैनिकबाट