Logo

एक्सनमा प्रधानमन्त्री कार्यालय



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्धारित समय सीमासहितको कार्ययोजना बनाएर उपत्यकाको सडकको अवस्था सुधार गर्न र जाम हटाउन सक्रियता देखाएको छ ।

सडकका खाल्टाखुल्टी र जामका कारण सर्वसाधारणले सास्ती पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कार्यदल गठन गरी तत्काल सुधारको कार्ययोजनाअनुसार काम अघि बढाइएको हो । कार्ययोजनाअनुसार खाल्टाखुल्टी पुर्न थालिएको हो । यसैगरी, सवारी आवागमनलाई बाधा पार्ने किसिमले राजधानीका विभिन्न स्थानमा सञ्चालित १८ वटा पेट्रोल पम्पलाई पनि स्थानान्तरण गरिने भएको छ ।

प्रधानमन्त्री कार्यालयले सरोकारवाला निकायबीच समन्वय गराई सडकको अवस्था सुधार गर्न तथा सम्बन्धित निकायलाई जवाफदेही बनाउन यस्तो प्रयास थालिएको बताएको छ ।

प्रधानमन्त्री ओलीको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले १२ मंसिरमा प्रधानमन्त्री कार्यालयका सहसचिव छवि रिजालको संयोजकत्वमा महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीम ढकाल, सडक विभागका सहसचिव शिवहरि सापकोटा, सहरी विकास मन्त्रालयका सहसचिव रितेश शाक्य र यातायात व्यवस्था विभागका महानिर्देशक गगनबहादुर हमाल सम्मिलित कार्यदल गठन गरेको छ । कार्यदलका संयोजक रिजालले कार्यदलले विभिन्न चरणमा छलफल गर्दै फिल्ड निरीक्षणपश्चात् कार्ययोजना तयार गरिरहेको आजको राजधानी दीनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्