काठमाडौं, १ पुस । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल राम्रोभन्दा पनि नराम्रो काम गरेर चर्चामा आईरहने नाम हो । उनी निगमको नेतृत्वमा आएदेखि अहिलेसम्म एउटापनि राम्रो काम गर्न सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्शिवाद पाएर निगमको नेतृत्व हत्याएका खरेलको पछिल्लो समय चौतर्फी आलोचना भैरहेको छ ।
विभागीय मन्त्री योगेश भट्टराईले पनि उनलाई हटाउने तयारी गरेका छन् । केही हप्ता अघिमात्रै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले खरेलको कार्यशैली आफूलाई चित्त नबुझेको भन्दै लिखित स्पष्टीकरण मागेको जनाएका थिए ।
सम्भवतः पुसको दोस्रो सातासम्म खरेललाई हटाउने मन्त्री भट्टराईको तयारी छ । आफ्नो जागिर चट् हुने बेलामा पनि खरेल चलखेल गर्न छोड्दैनन् । उनी विभिन्न शक्ति केन्द्र धाईरहेका छन् ।
यो बीचमा उनले नेपाल एयरलाइन्सलाई ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ दिलाउन पनि सफल भए । उनको अग्रसरतामा एयरलाइन्स कृटिज एन्ड ब्लगर एशोसिएसनले सन् २०१९ का लागि नेपाल वायु सेवा निगमलाई लोकप्रिय एयरलाइन्सको अवार्ड प्रदान गरेको छ ।
निगमकै कर्मचारीहरु भने यो अवार्ड पाएकोमा पनि खुशी छैनन् । जागिरबाट हात धुन नपरोस र आफ्नो विरोधमा भएको आलोचनालाई मत्थर पार्न उनले यो अवार्ड लिएको हुनसक्ने स्रोतको दाबी छ ।
निगम टाट पल्टिने अवस्थामा भएको बेला यस्तो अवार्ड पाउनुले खासै अर्थ नराखेपनि व्यक्तिगत रुपमा खरेलले यसबाट लाभ हाँसिल गर्न खोजेको बुझिन्छ ।
यही खुशीयालामा खरेलले आज साँझ सोल्टी होटलमा आफ्ना सिमित मान्छेहरुको लागि भव्य मदिरा–भोजको आयोजना गरेका छन् । निगमकै खर्चमा उनले यो पार्टीको आयोजना गरिएको बुझिएको छ ।
उनी व्यक्तिगत कामको सिलसिलामा पनि निगमको ढुकुटी रित्याउन बानी परेका छन् । केही समय पहिले भारतमा उपचार गर्न जाँदापनि उनी भव्य र आलिसान होटलमा बसेका थिए ।