काठमाडौं, १ पुस । अर्थमन्त्री डा युवराज खतिवडासँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेकी छिन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचारविमर्श भएको थियो ।
अर्थमन्त्रीले भूकम्पपछिको पुनर्निर्माणका लागि बेलायत सरकारबाट प्राप्त सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्दै नेपालको सामाजिक–आर्थिक विकासको कार्यसूची, आर्थिक स्थिति, सङ्घीयता कार्यान्वयनमा भएका प्रगति, व्यापारको अवस्था राजश्व परिचालन र सङ्कलनमा भएका सुधारबारे जानकारी दिए ।
उनले बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौताको प्रक्रिया अघि बढाइएको, लगानीको वातावरणमा सुधार भएकाले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह गरे ।
नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध पनि अर्थमन्त्रीले गर्नाका साथै नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी बेलायती पर्यटकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न आग्रह गरे । राजदूत पोलिटले नेपाल सरकारको प्राथमिकताअनुसार बेलायत सरकारले आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।