Logo

पञ्चेश्वरबारे ठोस निर्णयमा पुग्न नेपालले इच्छा राख्नुपर्छ- भारतीय राजदूत पुरी



काठमाडौं, १ पौष । भारतीय राजदूत मञ्जिभ सिंह पुरीले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा ठोस निर्णयमा पुग्न नेपालले इच्छा राख्नुपर्ने बताएका छन् । उनले भारत पञ्चेश्वर परियोजना तुरुन्त अगाडि बढाउन तयार रहेको बताए ।

प्राइम्स टाइम टेलिभिजनका लागि ऋषि धमलाले विशेष अन्तवार्ता लिर्दै पञ्चेश्वर परियोजना अगाडि बढ्न नसकेकोबारे सोधेको प्रश्नमा पुरीले भने, ‘नेपाल सरकारले यी विषयमा इच्छा राख्नुपर्छ । ती परियोजना तुरुन्त अगाडि बढाउन भारत सरकार तयार छ ।’ पञ्चेश्वर परियोजना नेपाल र भारतका लागि मात्र नभई सँसारकै ठूलो परियोजना बन्न सक्ने बताए । उनले भने, ‘यहाँबाट पाँच हजार मेगावाट विद्युत उत्पादन हुनसक्छ ।’

राजदूत पुरीले कतिपय सम्झौताहरु २० वर्ष पहिलादेखि भएकोमा दुवै सरकारबीच छलफल नहुने र भएपनि ठोस निर्णयमा नपुग्ने गरेको खुलाए । दुवै देशको अर्थतन्त्रमा व्यापक परिवर्तन ल्याउने परियोजनाहरुमा दुवै देशका सरकार र विशेषज्ञ बसेर छलफल गर्नुपर्ने बताए । विश्वभर जलविद्युतको विकल्पमा अन्य ऊर्जा आइरहेपनि भारत पञ्चेश्वरबाट विजुली निकाल्ने पक्षमा रहेको बताए ।

दुई दशकभन्दा बढी समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाको डिपिआर बन्न नसकिरहँदा राजदूत पुरीको पछिल्लो भनाई सार्वजनिक भएको हो । यसअघि परराष्ट्रमन्त्री भएपछि प्रदीप ज्ञवालीले भारतसँग सम्झौता भएर अगाडि बढ्न नसकेका परियोजनाहरुबारे वारपारमा जानुपर्ने बताएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्