Logo

नेकपाले अमेरिकी सहयोगको विरोध गर्दैन- गणेश शाह



काठमाडौं, १ पौष । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य गणेश शाहले दलभित्र जारी स्थायी समिति बैठकबारे महत्वपूर्ण खुलासाहरु गरेका छन् । अमेरिकी सहयोग सम्बन्धि सम्झौता एमसीसीबारे बाहिर बढी हल्ला भइरहेको बताए । उनीसँग ऋषि धमलाले गरेको कुराकानी,
तपाईं पार्टीभित्रै किन सरकारको विरोध भइरहेको छ ?
स्थायी समिति बैठमा सरकारको विरोध भएको होइन । सरकारको कामको समीक्षा गरिएको हो । सरकार जनउत्तरदायी हुनुपर्यो । जनतामाझ लोकप्रिय हुनुपर्यो भन्ने कुरा त पार्टीभित्र उठिहाल्छ नि ।
क–कसले के के कुरा राखे हिजोको बैठकमा ?
बैठकको कुरा कहाँ सबै सम्झना हुन्छ ।
तपाईंहरुको स्थायी समितिको बैठकमा उठेको कुरा जनताले थाहा पाउनुपर्यो नि ?
जुन–जुन कुरा मिडियाको खुल्ला हुन्छ त्यो बाहिर आइहाल्छ । त्यो प्रवक्ताले जनकारी गराउनुहुन्छ । त्यहाँभित्र भएका केही कुरा मिडियामा आइपनि सकेका छन् । बैठकमा अध्यक्षबाट राजनीतिक प्रतिवेदन आयो भने महासचिवले संविधान संशोधनको लागि दस्तावेज पेश भएको छ । त्यसको समीक्षा र विश्लेषण, अपुग कुराहरुलाई पर्ने साथै साथीहरुलाई लागेका केही नयाँ कुराहरु छन् भने राख्न प्रस्ताव गर्नुभएको छ । मुख्य कुरा हाम्रा पार्टीको सरकार भएकाले जनताको अपेक्षा के के छ, त्यो सम्बोधन हुनुपर्छ भन्ने हो । जस्तो अघि पनि कुरा आएको छ, ‘प्रधानमन्त्रीले जति विकासका काम गरेपनि सडक दुर्घटना रोक्न नसक्ने हो भने त्यसको अर्थ छैन’ भन्नुभयो । दूर्घटना भएको सुनेपछि खानानै खानु भएन । बाहिर हामीले जति ठूला कुरा गरेपनि जनताको जनजीविकाको सवालमा सरकार गम्भीर हुनुपर्छ ।
बैठकमा अमेरिकन सहयोगको पनि विरोध भएछ नि ?
अमेरिकन सहयोगलाई त्यो रुपमा बुझ्नुहुँदैन । त्यहाँ बुँदाहरुमा उल्लेख छ, त्यसकारण यो कुरा नबुझिकन त्यसै हल्ला गर्नु राम्रो हुँदैन । देशलाई फाइदा हुने कुराको सहयोगमा नेकपाले विरोध गर्दैन । तर, कुन सहयोग के सर्तमा लिने भन्नेबारेमा छलफल हुन्छ ।
छलफल भएपछि निकास पनि चाहियो नि सरकारको विरोध मात्रै गरेर भएन नि ?
सरकारले गरेका काम राष्ट्रहित र जनहितमा छैन भने त्यसलाई अस्वीकार पनि गर्नुपर्यो । त्यसको लागि संसद्मा विशेष छलफल हुँदैछ । त्यही जिम्मेवार साथीहरु हुनुहुन्छ, उहाँहरुले निर्णय गर्नुहुन्छ । सरकारले चाहिं मन्त्रिपरिषद्बाट निर्णय गरेर संसद्मा पठाएको जानकारी आएको छ । तपाईले भनेजस्तै एनसीसीको कुरा पनि बैठकमा उठेको छ । त्यसको बारेमा विस्तृत जानकारी आइसकेको छैन । त्यसको बारेमा प्रधानमन्त्री अथवा परराष्ट्रमन्त्रीजीले जानकारी दिनु् होला ।
स्थायी समिति सदस्यहरुको सरकारप्रति असन्तुष्टी छ हो ?
सरकारप्रति असन्तुष्टिभन्दा पनि उसले गरेका कामप्रति पूर्ण सन्तुष्टि छैन । यो कुरा हाम्रो प्रधानमन्त्रीले मन्त्रिमण्डलको मूल्यांकन गर्दा पनि यसको इंकित गर्दछ । हिजोका प्रतिवद्धता र जनआकांक्षा अनुसार सरकारले गति लिन नसकेकोप्रति पार्टीको ध्यानाकर्षण भएको छ । सरकारलाई जनपक्षीय र फलदायी बनाउन पार्टीले कसरी सहयोग गर्न सक्छ भनेर छलफल भएका छन् । त्यसमा साथीहरुले सरसल्लाह र सुझावहरु दिनुभएको छ ।
पार्टीभित्र निकै नेताहरु गुटको सुत्रधार देखिएका छन् नि ?
ठूलो पार्टीमा गुटहरुलाई अस्वाभाविक रुपमा लिनुहुँदैन ।
नेतैपिच्छे गुट झांगिएको छ नि ?
तपार्इंंले भनेजस्तो ९ जना सचिवालयको नेताहरुको सबैमा गुट होला । अर्काको फेरि अर्कै गुट होला । ठूलो पार्टी गुटभन्दा कोही व्यक्ति कसैको नजिक होला । कम्युनिस्ट पार्टीको बैठकमा जति छलफल, विचार विमर्शहरु हुन्छन्, तर निर्णय भएसकेपछि त्यसलाई सबैले मानेर हिड्नुपर्ने नैतिकता हुन्छ । त्यो मानेन भने पार्टी विभाजतिर जान्छ । त्यसैले कसैको कसैसँग नजिकीपन हुनेबित्तिकै त्यसलाई अस्वाभाविक रुपमा लिनु हुँदैन ।
तपाईंहरुको बैठक कति दिन चल्छ ?
हाम्रो बैठक बुधबारसम्ममा सकिन्छ । त्यसपछि सल्लाह गरेर जुनजुन बुँदा राख्नुपर्ने त्यो राखेर बैठकको निष्कर्ष बाहिर आउँछ । त्यसपछि केन्द्रीय समिति बैठकको लागि अगाडि बढ्नुपर्ने हु्रन्छ । यो बैठकको काम आगामी बैठकको तयारीको लागि पनि हो ।
वामदेव गौतमलाई उपाध्यक्ष बनाउने कुरामा सहमति भयो ?
सचिवायले ल्याएको हुनाले स्थायी समितिमा त्यो कुरा पारित हुन्छ ।
केन्द्रीय समितिमा पनि जानुपर्ला नि ?
अहिलेसम्म स्थायी समितिले नै गरिराखेको हो । निर्णयपछि केन्द्रीय समितिबाट अनुमोदित गराउनुपर्छ ।
स्थायी समितिको बैठकमा प्रधानमन्त्री त आउनुभएन नि ?
प्रधानमन्त्रीको अहिले स्वास्थ्य पनि त्यति ठीक छैन । फेरि हामीले दुई अध्यक्ष प्रणालीको अभ्यास गर्दैछौं । त्यसमा एकजना अध्यक्षले बढी पार्टीमा केन्द्रित हुने र अर्का अध्यक्षले सरकारको काम लाग्ने भन्ने भएको छ । त्यसकारण अहिले पार्टीको काम कमरेड प्रचण्ड लाग्नुभएको छ । तर राजनीतिक प्रतिवेदन चाहीं दुवै अध्यक्षको सल्लाह अनुसार आएको छ । त्यसकारण यसमा धेरै विवादहरु छैनन् ।- File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot