काठमाडौँ, २ पुस । भनिन्छ, मानवको लागि प्रकृति नै साझा र स्वतन्त्र सम्पत्ति हो । स्वच्छ र शालिन भएर जन्मेको मानिस समयको गति अनुसार विभिन्न मान्यता र बिचारहरूमा बाँधिदै जान्छ र सम्बन्धहरूको सञ्जालमा जेलिँदै गएपछि उसलाई उम्कन कठिन हुन्छ । अनेंकौ विश्वास पदति, वाद र मान्यताभित्र नै उसले माया, घृणा, जीवनको उमंग, उत्साह, निराशा र आशा खोतल्न थाल्छ । यो क्रममा कहिले बुद्ध बन्ने उसका सपनाहरू बन्दुकका गोलीका रुपमा परिणत हुन पनि सक्छ, तर, मानिस अन्तिम समयसम्म पनि प्रयासरत रहिरहन्छ ।
हरेक मानिसले ‘मानिस बन्न’का लागि गर्ने यस्ता प्रयत्नलाई उतारेको छ नाटक ‘बुलेट एण्ड द बुद्ध’ले । आशान्त शर्माले निर्देशक गरेको नाटक बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मंचन जारी छ । संवाद रहित नाटकमा सबै पात्रहरूले संगीत, गीत, नृत्य र शरीरको हाउभाउबाटै आ–आफ्ना भावहरू व्यक्त गर्छन् । सबैजना बुद्ध जस्तै शान्त रहन खोज्दा खोज्दै पनि सुन्दर गुलाफको फूल देखेर मोहित हुन्छन् । यसैलाई शिरमा र हातमा लिएर पवित्र प्रेमको आशामा संगीतको धुनमा एक–अर्कालाई साथ दिँदै रमाउँछन् । रमाइलो माहोलमा उति नै खेर घृणा र इर्श्याको माहोल उत्पन्न हुन्छ । एकले अरुको माया र खुसीलाई उछिन्ने होडबाजी चल्छ । एक पात्रले अर्की एकजनालाई फूल दिँदा अरुलाई डाह हुन्छ । आफ्नै मोह र इच्छा पूर्तिको लागि अरुलाई मजाक गर्न सबै पात्रहरू अभ्यस्त रहन्छन् । अन्ततस् सबैजना अन्योलमा पर्छन् । कहिले प्रविधि, कहिले शिक्षा र कहिले प्रकृतिका नियमहरूप्रति घरी माया दर्शाउँछन् भने घरी क्रोध । नियमभित्र रहन खोज्दा पनि अनियन्त्रित हुन्छन् । केही उज्यालो ज्ञान पाए जस्तो अनुभव गरेपनि कहाँ जाने बाटो खोज्न सक्दैन ।
दार्शनिक विषयबस्तुमा आधारित नाटकले मान्छेभित्रको खास मान्छे खोज्ने प्रयास गरेको देखिन्छ । लोभ, लालच, घृणा, रिस, माया, ईष्या जस्ता तत्वहरूले सदैव मानिसमाथि शासन गरिरहेको हुन्छ । सकरात्मक र नकरात्मक दुवै प्रवृतिहरू मानवीय स्वभाव हुन् । मानव आफैं जानेर नराम्रो बनेको हुँदैन, उसलाई जीवन जिउने क्रममा आउने विभिन्न बाधाहरूले नै अगाडी बढाउँछ भन्ने भाव नाटकमा छ । शब्द बीना नै निर्देशक तथा परिकल्पनाकार आशान्त शर्माले नाटकमा कलात्मक कार्य गरेका छन् । आफ्नो नौलो प्रयासलाई दर्शकले साथ दिन्छ भन्ने उनको विश्वास छ । नाटकले मुलतस् समकालिन समयमा बालबालिकालाई दिइने शिक्षा प्रणाली र विकसित हुँदै गइरहेको प्रविधिको पहुँचबाट विकृत, टुक्रिँदै गएको मानव समाजलाई समेत इंगित गरेको छ । ‘जोनी जोनी एस पापा।।।’ जस्ता अंग्रेजी बाल राइम्स नाटकमा प्रयोग गरिएका छन् । शर्माका अनुसार अहिलेको सिकाइ प्रणालीले बच्चालाई ‘यो गर, त्यो नगर’ भनेर नियन्त्रणमा राख्न खोजेको छ । जसकारण कुनै बच्चाले खुलेर सिक्न पाउँदैनन् ।
गुलाफको फूल, सिसा कलम, पुस्तक सबै विम्बात्मक रुपमा आएका छन् नाटकमा । फूल देख्ने बित्तिकै सबैको मुहारमा खुसी छाउँछ भने सिसा कलम र पुस्तक देख्दा निराशा र अन्योलता देखिन्छ । जसलाई नचाहँदा नचाहँदै पनि भारी रुपमा बोकेर अगाडि बढ्ने प्रयास गर्छन् । ‘फूलले प्रकृतिको संकेत गर्छ, जहाँ मानिस खुलेर जिउन चाहन्छन्’ शर्मा भन्छन्,‘ तर स्कुले शिक्षाले साना बालबालिकाहरू थिचिरहेका छन् । तिनिहरू नै पछि विभिन्न मानवीय, सामाजिक, आर्थिक, भौतिक, प्राकृतिक र प्रविधि जस्ता विविध वादहरूमा घुम्न बाध्य हुन्छन् ।’ उनका अनुसार यी सबै पक्षहरूलाई जित्न सकेका मात्र मानिसले बुद्धत्व प्राप्त गर्न सक्छ । होइन भने अधिकांशको इच्छा, सपना र रहरहरू बुलेटका रुपमा विनाशको बाटोतिर लम्कन्छ ।
नाटकलाई सामयिक बनाउन पनि निर्देशक सफल छन् । सबै पात्रहरू फेसबुक, म्यासेन्जर, युट्युब, टिकटक, गुगल जस्ता सामाजिक सञ्जालका माध्यमलाई लिएर भौतारिरहेका हुन्छन् । नाटकले अहिलेको सुचना र प्रविधिको जमानाले मानिसहरूमा निम्ताएको एक्लोपना, नैराश्यपन र झाङ्गिँदै गइरहेको अमानवीय व्यवहारप्रति व्यंग्य गरेको छ । नाटकको परिवेश र पात्रको हाउभाउ अनुसार प्रयोग गरिएका हिन्दी, नेपाली र अंग्रेजी गीतहरू र बेला–बेलामा सुनिने आवाजहरूले दर्शकलाई नाटकको कथा बुΣन सघाउ पुर्याएको छ । सबै पात्रहरूलाई महिला र पुरुषको रुपमा नछुट्टाई प्रकृतिको सन्तानका रुपमा समान अस्तित्व दिनु नाटकको अर्को सकारात्मक पाटो हो । छिरिङ्ग शेर्पा, रेनुका सिंह, रंजना कार्की, दिव्या मगर, संगीता नेपाली, गोपिनी सेदाई, मेलिना बर्देवा लगायतका कलाकारहरूको अभिनय रहेको नाटक शनिबारसम्म मन्चन हुने बताइएको छ ।
कान्तिपुर दैनिकबाट