Logo

महाकवि सङ्ग्रहालय निर्माण हुँदै



काठमाडौँ, २ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणानुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीर्ण घर आफ्नो स्वामित्वमा लिएपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ‘देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जले चर्चेको जग्गा मङ्गलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेको हो । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले घोषणा गर्नुभएको उक्त सङ्ग्रहालय निर्माणको काम जग्गा प्राप्तिका कारण ढिलाइ भएको थियो ।

प्रज्ञा प्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए। हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोराहरू प्रा डा पद्मप्रसाद देवकोटा र डा दीपक देवकोटालाई प्रतिष्ठानले रु दुई करोड ५० लाख हस्तान्तरण गरिसकेको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक व्यवस्थापन गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो । देवकोटाकी छोरी अम्बिका रिमालले प्रधानमन्त्रीलाई सम्बोधन गरी ‘देवकोटाको घरलाई सङ्ग्रहालय बनाइ पाऊँ’ भनी निवेदन दिए ।

देवकोटाको आवासलाई सङ्ग्रहालय बनाउने सम्बन्धमा गठित सिफारिस समितिको प्रतिवेदन–२०७६ लाई आधार मानी मन्त्रिपरिषद्को हालैको बैठकले निर्णय गरेअनुसार देवकोटाका छोराहरुलाई उक्त मुआब्जा दिइएको हो । उनहरुले आफ्नो हक भोगको उक्त कविकुञ्ज र घरले चर्चेको जग्गामाथिको हक मालपोत कार्यालय चारखालमा आफैँ उपस्थित भई नेपाल प्रज्ञा प्रतिष्ठानको नाममा कानूनतः हस्तान्तरण गरेको कुलपति उपे्रतीले बताए । कुलपति उप्रेतीले देवकोटाको आवासलाई सङ्ग्रहालय बनाउन प्रधानमन्त्रीले देखाएको सद्भाव र उत्प्रेरणापूर्ण चासो तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरे । ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot