Logo

काठ लिलाम बिक्रीबाट रु ७४ लाख राजश्व



काठमाडौं, पुस २ । एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ ।

वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनका अनुसार सालजातको काठ दुई हजार ८९० घनफिट र अन्यजातको ६१६ घनफिट गरी तीन हजार ५०६ घनफिट काठ लिलाम बिक्री भएको थियो ।

उनले सरकारले तीन ग्रेडमा राजश्व मूल्य तोकेको बताउँदै सोहीअनुरुप नै लिलाम बिक्री गरिएको जानकारी दिए । उनका अनुसार सुखवा ए,  बी र सी ग्रेडको प्रतिघनफिट रु एक हजार, रु ७०० र रु ५०० मूल्य निर्धारण गरिएको थियो ।

गत कात्तिकमा पत्रपत्रिकामा बोलपत्र आह्वानको सूचना निकाली कार्यालयमा परेको निवेदनका आधारमा सबैभन्दा बढी डाक बढाबढ गर्नेलाई काठ लिलाम बिक्री गरिएको प्रमुख घिमिरेले बताए । काठसँगै बरामद गरिएका सवारी साधन पनि कार्यालयमा वर्षौँदेखि थुप्रिएका र काम नलाग्ने अवस्थामा पुगेकाले चाँडै प्रक्रिया पूरा गरेर लिलामी गर्ने तयारी भइरहेको उनको भनाई छ ।रासस



प्रतिक्रिया दिनुहोस्