– विमलबहादुर विष्ट : शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमाना आफ्नो गर्भमा भएको श्रीमान्को नासो हुर्किए पनि सिउँदोमा सिन्दूर हाल्ने व्यक्ति अझै नफर्किंदा निकै चिन्तित बन्नुभएको छ । उहाँ हिजो आज घरमा एक्लै हुनुहुन्छ ।
उहाँका श्रीमान् टेकबहादुर दडिमाना रोजगारीका लागि भारतको जोधपुर गएपछि उहाँ नितान्त एक्ली हुनुभएको हो । करिब १५ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिनुभएकी महिसराले श्रीमान्को सुख त परै जावास् अनुहारसम्म हेर्न नपाएको कम्तीमा पनि २० वर्ष भयो । “म तीन महिनाकी गर्भवती थिए, त्यतिबेला उहाँ ९श्रीमान्० घरबाट जानुभएको हो”, महिसराले भन्नुभयो । साथीसँगीका बुबा भारतबाट फर्कंदा आफ्ना बुबा नफर्केपछि महिसराका छोरा गोपाल बाबा किन आएनन् भनेर सोध्ने गर्छन् ।
महिसरा छोरालाई फेरि कुनै बहाना बनाएर चुप लाउने गरे पनि तर जब गोपाल अली ठूला भए उहाँले भन्नै प¥यो सत्य कुरा । “यो २० वर्षसम्म न म बिधवा जस्ती भए न सधवा जस्ती” मलिन अनुहार बनाउँदै महिसराले थप भन्नुभयो, “श्रीमान् छन् भन्ने कि छैनन् भन्ने द्विविधा भएको छ ।” सिउँदोमा सिन्दूर त छ महिसराको तर त्यो सिन्दूर हाल्ने व्यक्ति कहाँ छ भन्ने अहिलेसम्म अत्तोपत्तो छैन उहाँलाई । विवाहलगत्तै महिसराका श्रीमान् टेकबहादुर घर छोडेर गएका परदेश जानुभएको थियो ।
चार वर्षसम्म कुनै पत्तो थिएन । पछि आफैँ घर आउनुभएको महिसराले बताउनुभयो । “त्यतिबेलै मेरा सुसुराले अर्को बिहे गर्न भन्नुभएको थियो,” उहिलेको कुरा सम्झँदै उहाँले गहभरि आँसु निकाल्दै भन्नुभयो, “म कहीँ गएन श्रीमान्को बाटो कुरेरै बसे तर उहाँ आउनुभएन ।” चार वर्षपछि टेकबहादुर आउनुभयो । सानै उमेरदेखि रक्सीको नशामा रमाउने बानी परेका टेकबहादुर धेरै दिन घरमा बस्नुभएन । फेरि कमाउने भन्दै घरबाट जानुभयो तर कहाँ जानुभयो भन्ने उहाँकी श्रीमती तथा अन्य गाउँलेलाई अहिलेसम्म अत्तोपत्तो छैन ।
बाख्रा पालेर, अर्काको मेलापात गरेर साँझ–बिहानको छाक टार्नु हुन्छ, महिसारले हिजोआज । माइती, देवर, जेठाजुको सहयोगमा महिसराले छोरालाई हुर्काउनुभयो, छोरालाई दुःख कष्ट गरेर भए पनि कक्षा १२ सम्म पढाउनुभयो । “स्कुलमा कक्षा १२ को एक विषय लागेको थियो, चान्स ९ग्रेड वृद्धि० दिन पाउने भन्नुभाथ्यो सरले, तर छोरो गोपाल पनि रोजगारीका लागि भारत गयो”, उहाँले भन्नुभयो, “मैले दुःख गरेर हुर्काए, पढाए पनि, पढाइमा राम्रै थियो तर बीचमै पढाइ छाडेर छोरा भारत गयो, मेरा फेरि दुःख शुरु भए ।”
उहाँ छोराको खुशीमा आफ्नो दुःख बिर्सन खोज्नुहुन्थ्यो त्यो खुशी पनि मिल्न नसकेकामा उहाँ अहिले झन् दुःखी हुनुभएको छ । श्रीमान् भारतमै हराएको घटनाले पनि छोरा भारत नपसोस् भन्ने चाहना थियो महिसराको । पेट पाल्नकै लागि मुग्लान पस्नु पर्ने लाखौं युवाको पीडाले गोपाललाई पनि छोयो । महिसराको जस्तै अवस्था छ कृष्णा गिरीको पनि । करिब १६ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिनुभएकी कृष्णा पनि विगत १६ वर्षदेखि श्रीमान्को पर्खाइमा घरमा बस्नुभएको छ ।
द्वन्द्वकालमा कृष्णाका श्रीमान् दीपक गिरी घरबाट केही नबोली चुपचाप निस्कनुभयो । गाउँतिरै डुल्दै होलान् भन्ने सोच्नुभएकी कृष्णाले श्रीमान् कहाँ गए अहिलेसम्म खबर पाउनुभएको छैन । दिन, महिना, वर्ष बित्दै जाँदा १६ वर्ष पूरा भएछ, तर दीपक घर फर्केर आउनुभएन । दीपक घरबाट जाँदा गर्भमा रहेकी छोरी लक्ष्मीलाई पनि अहिले १५ वर्ष पूरा भइसकेको छ ।
महिसरा र कृष्णा मात्रै हैनन् गाउँमा थुप्रै महिलाले यस्तो पीडा खेपिरहनुपरेको बताउनुहुन्छ कपल्लेकी स्थानीयवासी चम्पा पार्की । तीन वर्षपहिले महिसरा र कृष्णाले श्रीमान्को खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिनुभएको थियो । प्रहरी कार्यालयबाट पनि कुनै जानकारी नआएपछि उहाँहरुले अहिले श्रीमान् आउने आशा मारिसक्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले श्रीमान् तथा घरका परिवार हराएका विषयमा निवेदन पर्ने गरे पनि कुन ठाउँ र कहिले हराएका हुन् भन्ने यकिन जानकारी नआएका कारण खोजतलास गर्नमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरका सदस्य हराएको भन्ने निवेदन ९खबर० आउँछ तर कहिले कहाँबाट भन्ने जानकारी आउँदैन तैपनि हामी हाम्रो क्षेत्रबाट खोजतलासका लागि पहल भइरहेका छ ।”