काठमाडौं, २ पुस । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन्। संविधान संशोधनलगायत विषयमा प्याकेजमै सहमति खोज्न राजपा नेताहरूले बुधबार अपरान्ह प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। छलफलका लागि अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव र महेन्द्र राय यादव बालुवाटार पुगेका हुन्।
राजपा नेपालका एक नेताले दिएको जानकारीअनुसार आजको भेटमा संविधान संशोधनबारे वारपारको छलफल हुने बुझिएको छ । कतिपयले राजपा सरकारमा सहभागी हुनसक्नेपनि अड्कलबाजी गरेका छन् । केही समय पहिले राजपालाई सभामुख दिनेगरि सरकारमा सहभागीबारे नेकपा र राजपाका नेताहरुबीच छलफल चलिरहेको पनि स्रोतको दाबी छ । राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरलाई सभामुख बनाउन सकिनेबारे नेकपा नेताहरुले सोच्न सक्ने बताएका छन् ।