काठमाडौँ, ३ पुस । ‘बोलकबोलको तेस्रो चरणमा नेपाल टेलिकमले पाँच करोड एक हजार र एनसेलले पाँच करोड ८० लाख रुपियाँ कबोल गरेको छ । यससँगै एनसेलले कबोल गरेको मूल्य सबैभन्दा बढी भएको छ, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले यो घोषणा गरेसँगै दूरसञ्चारका लागि उपयोग हुने फ्रिक्वेन्सीको मूल्य नेपालमा पहिलोपटक बोलकबोलबाट तय भयो । यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले निर्धारण गरेको ब्यान्ड र नीतिभित्र रहेर प्राधिकरणले निश्चित मूल्यमा सेवाप्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराउँदै आएको थियो । बुधबार दूरसञ्चार इतिहासमा देशमै पहिलोपटक सेवाप्रदायकले आफैँले फ्रिक्वेन्सीको मूल्य तय गरेका हुन् ।
दूरसञ्चार प्राधिकरणले हाल फोरजी सेवाका लागि उपयोग भइरहेको १८ सय मेगाहर्ज ब्यान्डअन्तर्गत बाँकी रहेको फ्रिक्वेन्सीमा बुधबार बोलकबोल भएको हो । बोलकबोलका लागि यसअघि प्राधिकरणले जारी गरेको सूचनाका आधारमा आवेदन दिएकामध्ये योग्य नेपाल टेलिकम र एनसेल सहभागी भएका थिए । प्रतिमेगाहर्ज फ्रिक्वेन्सी ९पेयर्ड०का लागि निर्धारण गरिएको आधार मूल्य तीन करोड ६० लाख रुपियाँबाट बोलकबोल सुरु भएको थियो । बोलकबोलका लागि पहिलो चरणमा निर्धारण गरिएको २० मिनेटपछि नेपाल टेलिकमले तीन करोड ७० लाख ८० हजार र एनसेलले तीन करोड ९० लाख ६० हजार रुपियाँ कबोल गरेका थिए । पहिलो चरणमा एनसेलले सबैभन्दा धेरै मूल्य तय गरेको आधारमा दोस्रो चरणमा पाँच प्रतिशत मूल्य बढाएर चार करोड १४ लाख रुपियाँ आधार मूल्य प्राधिकरणले तोकेको थियो । दोस्रो चरणको मूल्यमा तय भएको आधार मूल्यका आधारमा सहभागी कम्पनीलाई दोस्रो चरणको कबोलका लागि आधा घण्टा समय उपलब्ध गराइएको थियो । यो चरणमा नेपाल टेलिकमले चार करोड २० लाख र एनसेलले चार करोड ३२ लाख रुपियाँ कबोल गरेका थिए ।
एनसेलले कबोल गरेको मूल्य दोस्रो चरणमा पनि धेरै भएपछि त्यसैलाई आधार मानेर तेस्रो चरणका लागि प्राधिकरणले चार करोड ५० लाख रुपियाँ आधार मूल्य तय ग¥यो । अन्तिम चरणको यो कबोलका लागि टेलिकम र एनसेललाई ४५ मिनेट उपलब्ध गराइएको थियो । सिलबन्दी यो बोलकबोलमा टेलिकमले पाँच करोड एक लाख र एनसेलले पाँच करोड ८० लाख रुपियाँ मूल्य कबोल गरेका थिए । नियम अनुसार अन्तिम चरणमा तोकिएको अधिक मूल्यलाई नै उक्त ब्यान्डको प्रतिमेगाहर्ज फ्रिक्वेन्सीको मूल्य तय गरियो । एनसेलले टेलिकमले भन्दा ७९ लाख रुपियाँ बढी मूल्य कबोल गरेर फ्रिक्वेन्सी पाउने आफ्नो बाटो खोलेको हो ।
गोरखापत्र दैनिकबाट