काठमाडौं, ३ पुस । राष्ट्र बैंकले उच्च आर्थिक वृद्धिको सरकारी लक्ष्यमाथि चुनौती थप्ने तथ्यांक सार्वजनिक गरेको छ। गएको साउनदेखि कात्तिकसम्मको आर्थिक सूचकांकले आर्थिक वृद्धिदर खुम्चिनसक्ने देखाएको छ। औद्योगिक कच्चापदार्थ र पेट्रोलियम तथा कोइलाजस्ता ऊर्जाका स्रोतको खपत घटेको तथ्यांकले उच्च आर्थिक वृद्धिको लक्ष्यमा चुनौती थपेको विज्ञले बताएका छन्। विगत चार महिनामा स्टिल र फलामको कच्चापदार्थ एमएस बिलेटको आयात गत वर्षको तुलनामा ५० प्रतिशत घटेको छ। यसबीचमा १२ अर्ब ७० करोड रुपैयाँको फलाम बिलेट आयात भएको छ। गत वर्ष यही समयमा २५ अर्ब ५० करोडको बिलेट आयात भएको थियो। पोहोर कुल आयातमा साढे ५ प्रतिशत हिस्सा रहेको बिलेट यो वर्ष २।८ प्रतिशतमा खुम्चिएको छ।
यससँगै सिमेन्टको आयात पनि ७६ प्रतिशत घटेको छ। जस्तापाताको कच्चापदार्थ ‘रोल्ड सीट’ को आयात पनि ५४ प्रतिशत घटेको छ भने कोइलाको आयात ५९ प्रतिशत घटेको छ। फलामे छड, तार र डण्डीको आयात पनि २५ प्रतिशत घटेको छ। पेट्रोलियम पदार्थ, सवारिसाधन र पार्टस्, विमानका पार्टपुर्जादेखि प्लास्टिकका सामान उत्पादन गर्ने कच्चापदार्थको आयात पनि भारी मात्रामा घटेको छ। गार्मेन्ट उत्पादनमा आवश्यक धागोमात्र होइन, चामलको आयात पनि ३२ प्रतिशतभन्दा धेरै घटेको छ। सरकारले रक्सी उद्योगलाई कडाइ गरेपछि चामलको आयात खुम्चिएको हो। यस्तो तथ्यांकले साढे ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्यमाथि प्रश्न उब्जिएको राष्ट्र बैंकका अधिकारी बताउँछन्। विश्वबैंकले केही दिनअघि नेपालको आर्थिक वृद्धि ६।४ प्रतिशत मात्र हुने प्रक्षेपण गरेपछि अर्थमन्त्री खतिवडाले असन्तुष्टि जनाएका थिए। सरकारको आर्थिक सल्लाहकारको भूमिका समेत निर्वाह गर्ने राष्ट्र बैंकको तथ्यांकले भने विश्वबैंकको प्रक्षेपणलाई सघाउने देखिएको केन्दी्रय बैंकका अधिकारीको भनाइ छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा।गुणाकर भट्ट भने सरकारले मंसिरपछि मात्रै पुँजीगत खर्च बढाउने भएकाले चार महिनाकै तथ्यांकका आधारमा आर्थिक वृद्धि खुम्चिने विश्लेष गर्दा चाँडो हुने बताउँछन्। बरु, आयात घट्ने र निर्यात बढ्ने प्रबृत्तिले अन्तरराष्ट्रिय व्यापारलाई लयमा फर्काएको उनको तर्क छ। तर राष्ट्र बैंककै तथ्यांकले भूमध्ये रेखाको वरपर अत्यधिक गर्मीमामात्रै फल्ने पामको तेल प्रशोधन गरेर निर्यात बढाएका कारण पैठारी बढेको देखिएको पुष्टि गर्छ। गत वर्षको तुलनामा यो वर्ष पाम तेलको निर्यात झण्डै १० गुणा बढेको छ। पोहोर मुलुकको कुल निर्यातको ३ प्रतिशतभन्दा कम योगदान गर्ने यस्तो आयातित कच्चापदार्थमा आधारित तेलबाट अहिले हाम्रो अर्थतन्त्रले २३ प्रतिशतभन्दा बढी निर्यात आम्दानी प्राप्त गर्न थालेको छ। एउटै वस्तुको परनिर्भरताका आधारमा बढेको निर्यातले तत्कालका लागि भने आर्थिक सूचकांक सुधार्न सघाउ पुर्याएको छ। व्यापार घाटा झण्डै ९ प्रतिशत घटेर ४ खर्ब १४ अर्बमा खुम्चिनुमा पाम तेलको ठूलो योगदान देखिन्छ। यद्यपि, तयारी पोसाक, गलैंचाजस्ता परम्परागत निर्यात सामग्रीको निर्यात खुम्चिँदा अन्तर्राष्ट्रिय व्यापारमा अझै चुनौती थपिएको छ।
भुक्तानी सन्तुलन सुधार
व्यापार तथ्यांक मात्र होइन, नेपालीले विदेश जान गर्ने खर्चसमेत कटौती हुँदा यो वर्ष भुक्तानी सन्तुलनमा भने सुधार देखिएको छ। गत वर्ष ४ महिनामा ५७ अर्ब घाटामा रहेको भुक्तानी सन्तुलन यो वर्ष भने २७ अर्ब रुपैयाँ बचत छ। राष्ट्र बैंकले गत वर्ष मात्रै भ्रमणका लागि विदेश जाने नेपालीलाई दिँदै आएको २५ सय डलर सटही सुविधा घटाएर १५ सयमा झारेको थियो। वैदेशिक रोजगारीमा जानेलाई दिँदै आएको ५ सय डलरको सटही सुविधालाई पनि २ सयमा झारेको थियो। यस्तो नीतिले विदेशी मुद्राको सञ्चिति बढेको र भुक्तानी सन्तुलनामा समेत सघाउ पुगेको कार्यकारी निर्देशक भट्ट बताउँछन्। कात्तिक मसान्तमा नेपालसँग भएको १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चितिले ८ महिना २१ दिनको वस्तु र सेवा आयात धान्नसक्ने अवस्था रहेको तथ्यांक छ। तर, विदेशमा रहेका नेपाली कामदारले पठाउने रेमिट्यान्स भने अघिल्लो वर्षभन्दा २।३ प्रतिशत घटेरको छ। यसले आगामी दिनमा निर्यात बढाउनेतर्फ अझै अग्रसर नभए अर्थतन्त्रको विस्तारमा अर्को चाप पर्नसक्ने देखिएको छ। तथापि, भुक्तानी सन्तुलनमा भएको सुधार र कर्जाको मागमा देखिएको कमीले विद्यमान ब्याजदर भने आउँदा दिनमा घट्नसक्ने देखिएको छ।
अन्नपूर्ण पोष्ट्बाट