Logo

धार फेरेको फेर्‍यै कर्णाली



काठमाडौँ, ३ पुस । नदीमा अत्यधिक दोहन भएपछि कर्णाली नदीले धार बदलेको छ। सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशको सीमानाका रूपमा रहेको कर्णाली नदी बर्दियामा गेरुवा र कर्णाली गरी दुई भँगालोमा बाँडिएका छन्।

पश्चिम भंगालोमा अत्यधिक दोहन भएपछि पानीको मात्रा बढेको हो। कर्णालीको पूर्वी भँगालो निकुञ्ज किनार भएर बग्ने गेरुवा नदीतर्फ नदीजन्य पदार्थ थुप्रिँदै गएको छ। पश्चिम भँगालोमा पानीको मात्रा बढेपछि कटान भएको छ। कैलाली र बर्दियाको सीमाना कर्णाली नदीको बर्दिया तटीय क्षेत्रअन्तर्गत पश्चिम भँगालोमा नदीजन्य पदार्थको अत्याधिक दोहन भइरहेको हो। कर्णाली नदी व्यवस्थापन आयोजना राजापुरका निर्देशक केदारकुमार श्रेष्ठले उत्खनन् भएका कारण पश्चिमतर्फ पानीको मात्रा बढेको बताए। ‘पानीको बहाब बढेपछि तटबन्धनमा समेत क्षति पुर्‍याएको छ’, उनले भने। नदी दोहन नियन्त्रणमा भने चासो दिइएको छैन। किनारमा लगाएको तटबन्धन भत्किँदै जाँदा बर्खायाममा जोखिम बढ्ने उनले बताए। राष्ट्रिय योजनाबाट बहुवर्षीय ठेक्का सहमति भइसके पनि अर्थ मन्त्रालयले दोस्रो चौमासिकको मध्य समय बितिसक्दा पनि स्रोत सुनिश्चितता नगर्दा कर्णाली नदी व्यवस्थापन कार्य अलपत्र परेको छ। वर्षा आउन केही महिना बाँकी रहँदासमेत काम सुरु हुन नसकेपछि स्थानीय चिन्तित छन्। ‘वर्षाअगावै मर्मतको काम नसकिए बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका बाढीको जोखिममा पर्ने देखिएको छ’, उनले भने।

विगतमा कर्णाली भँगालोतर्फ नदीको बहाब वृद्धि हुँदा मुर्गहवा, टिउनी, बनघुस्रा र सनकट्टी घाटमा गरिएको तटबन्धनमा क्षति पुर्‍याएको हो। कर्णाली नदी व्यवस्थापन आयोजनाले क्षतिग्रस्त तारजाली मर्मतका लागि ३० करोड र वनघुस्रा तथा सनकट्टी घाटमा ८ वटा स्पर निर्माणका लागि ४५ करोड गरी ७५ करोड रुपैयाँको स्टीमेट अर्थ मन्त्रालयमा बुझाएको उनले बताए। मन्त्रालयले बजेट स्वीकृत गर्न ढिलाइ गरे नदी व्यवस्थापनको कार्यमा समस्या आउने उनको भनाइ छ। गेरुवातर्फको नदीजन्य पदार्थ उत्खनन् गर्दै कर्णालीतर्फ रोक लगाउन सके तटबन्धन सुरक्षित हुने आयोजनाले जनाएको छ। वर्षा आउन केही महिनाबाँकी रहँदा नदी व्यवस्थापनको काम सुरु नभएपछि सरोकारवाला चिन्तित बनेका छन्। पश्चिम भँगालो कर्णालीतर्फ पानीको मात्रामा भारी वृद्धि भएसँगै तटबन्धनका पुराना संरचनामा क्षति पुगेको हो। बर्दियाको गेरुवा नदीतर्फ थुप्रिएको ढुँगा, गिट्टी, बालुवा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले उत्खनन् गर्न पाइँदैन। कर्णाली नदीतर्फ ढुंगा, गिट्टी, बालुवाको अत्यधिक दोहन भएकै कारण नदी गहिरिएर धार परिवर्तन गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। पटक पटक बाढीको चपेटामा पर्दै आएका राजापुरका स्थानीयले फेरि पनि पुरानै नियति भोग्नुपर्ने अवस्था देखिएको छ। ‘कर्णालीको पूर्वी भँगालो गेरुवा नदीतर्फको उचित व्यवस्थापन तत्काल गर्नुपर्छ’, लामिछानेले भने, ’सरकारले काम गर्न पाउने वातावरण निर्माण गर्दै बजेटको सुनिश्चितता गर्नुपर्छ।’

जिल्लास्थित दैवी प्रकोप उद्धार समितिले पनि निर्णय गरी मर्मतका लागि तत्काल ध्यान दिन माग गरेको छ। पश्चिमतर्फको बहाब घटाई नदीलाई पूर्वतर्फ बगाउनु पर्छ। कर्णालीको दुवै भँगालामा समान बहाब गराउन सके राजापुर क्षेत्रमा बाढीको जोखिम कम हुन्छ। बर्दिया चारैतिर नदीले घेरिएको बाढी प्रभावित जिल्ला भएकाले पनि नदी व्यवस्थापन गर्नु जरुरी रहेको लामिछानेले बताए।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्