Logo

डम्म ‘बादल’



काठमाडौँ, ३ पुस । आफ्नै सपना र गाउँको माहोलले हुत्याएपछि भारतीय सेनामा भर्ती भएका कर्णबहादुर थापाले गुल्मीको बडागाउँ त छोडे तर श्रीमती र सन्तान छोड्न सकेनन् । त्यसैले सपना पछ्याउँदै भारत हान्निएका उनलाई पछ्याएर त्यतै पुगे जीवनसंगिनी र लालाबाला पनि । दोस्रो विश्वयुद्धको समय । भारतीय सेनाका मेजर कर्णबहादुरको कहिले कता, कहिले कता सरुवा भइरहन्थ्यो । उनको सरुवा जता हुन्थ्यो, छोराछोरीको पढाइ पनि त्यतैत्यतै हुन्थ्यो । कहिलेकाहीँ त ६ र ६ महिनामै फेरिन्थे स्कुल । नेपालको पहाडबाट झरेका उनको परिवारका सदस्य देख्नमा भारतीयभन्दा अलि पृथक् थिए । अझै बेग्लै देखिन्थे– उनका जेठा छोरा ।

कर्णबहादुरका तिनै जेठा छोरा हुन्– रामबहादुर थापा ‘बादल’ । जो अहिले नेकपा सचिवालय सदस्य र गृहमन्त्री छन् । जिम्मेवारीका हिसाब उनी बोलिरहनुपर्ने ठाउँमा छन् तर हम्मेसी बोल्दैनन् । गत मंसिर २३ गते सचिवालय बैठक ४ घण्टा बस्यो, केही सैद्धान्तिक एजेन्डामा घनिभूत छलफल पनि भयो तर बादलको बोली फुटेन । ‘सबै नेता छलफलमा सहभागी भएर आ–आफ्ना तर्क राखिरहेका हुन्छन्, उहाँ बोल्दै बोल्नुहुन्न,’ एक सचिवालय सदस्यले भने, ‘बादलजीले बोल्ने र पक्ष विपक्षमा छलफल गर्ने भनेको दुर्लभ घटना हो । जब उहाँ हल्लिनुहुन्छ ०७२ को भन्दा ठूलो भूकम्प ल्याइदिनुहुन्छ ।’ ०७३ सालमा वैद्य समूह छोडेर मूल पार्टी माओवादीमै फर्किए । ०७५ मा एमाओवादी र एमाले मिलेर नेकपा बनेपछि उनी त्यसरी बोलेको सम्झना नेकपा सचिवालयका सदस्यहरूलाई छैन । पक्ष–विपक्षको लडाइँमा ‘बादल’ को यही मौनतालाई दुवै अध्यक्षहरूले आफूअनुकूल व्याख्या गरे । गुटको हिसाबकिताबमा दुवै अध्यक्षका खातामा चढे तर बादल हल्लिएनन्, पार्टीभित्रका यस्ता बहस उनले मुसुमुस हाँसेर टारिदिए । उनी सचिवालयमा मात्रै होइन, मन्त्रिपरिषद् बैठकमा पनि हम्मेसी बोल्दैनन् । ‘एउटा एजेन्डा आयो भने धेरैजसो मन्त्रीहरू कल्याङमल्याङ गरिरहन्छन्, उहाँ नबोलेपछि प्रधानमन्त्रीज्यूले गृहमन्त्रीज्यूको पनि केही छ कि भनेर सोध्नुपर्छ,’ मन्त्रिपरिषद् बैठकमा बादलको उपस्थितिबारे उनकै सहयात्री एक मन्त्रीले भने, ‘बादलजी र मौनता पर्यायवाचीजस्तै हो ।’ बादल किन मौन बस्छन् रु उनको जवाफ छ, ‘म पहिलेदेखि नै कम बोल्ने मान्छे हुँ, अनावश्यक विषयमा किन धेरै बोलिरहनु रु’ बादलले आफूलाई अन्तर्मुखी स्वभावको भनेर बारम्बार भनिरहेका हुन्छन् । उनले युद्धकालीन मोर्चाका बैठकहरूमा पनि आफ्ना भनाइ राख्दा ‘म अलिकति अन्तर्मुखी स्वभावको छु,’ भनेर आफ्ना कुरा सुरु गर्थे । सैद्धान्तिक बहस र प्रशिक्षण त उनले पाँच घण्टा लामो पनि गरेका छन् ।

आफू कसरी कम बोल्ने हुन थालेँ भन्ने विषयको व्याख्या उनले आफ्ना साथीहरूको माझमा पनि गरेका छन् । ०६० सालमा उनी तत्कालीन नेकपा माओवादीको पूर्वी कमान्ड इन्चार्ज थिए । उनको दैनिकी पूर्वी पहाडतिरै बितिरहन्थ्यो । ०६० को एक साँझ बादललाई आफ्नो बाल्यकालबारे साथीहरूसँग कुरा गर्न मन लागेछ, उनैले आ–आफ्नो पृष्ठभूमिबारे छलफल गर्न प्रस्ताव गरे र आफ्नै कथा सुरु गरे । बादलको मौनता उनको बाल्यकाल र राजनीतिक यात्राका विभिन्न घटनाक्रमसँग पनि जोडिएको रहेछ । उनका बुवा आबद्ध सैन्य टुकडी त जता पनि उस्तै हुन्थ्यो तर अरू वातावरण त्यहाँको समाजअनुसार नै चल्थ्यो । समाजकै बनोटअनुसारका स्कुलहरूका माहोल फेरिए, साथीसंगति फेरिए तर भारतका सबै ठाउँ घुम्दा भेटिएका शिक्षक र साथीहरूको व्यवहार फेरिएन । सबैले उस्तै खालको व्यवहार गर्ने र हेप्ने भएपछि उनी बाल्यकालदेखि नै एकदम कम बोल्ने हुन थाले तर ‘विद्रोही’ बने । सम्भवतस् बादलले त्यो चुपचाप शैलीबाटै विद्रोहको गोरेटो कोरेका थिए । त्यो संस्थागत भने उनी १९ वर्षका भएपछि मात्रै भयो, जतिखेर रामपुर कृषि क्याम्पसमा पुष्पकमल दाहालसँग उनले भेटे ।

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्