Logo

जब सुतेकालाई धमाधम उठाइयो



काठमाडौँ, ३ पुस । बौद्व स्तूपाको सौन्दर्यसँग आन्तरिक तथा बाह्य पर्यटक रमाइरहेका छन् । मध्यरात स्तूपाको बत्तीले वरपरसम्म उज्यालो छरेको छ । सडकमा दिउँसोजति सवारी चाप नभए पनि सवारीसाधनको आवागमन बन्द भइसकेको छैन । स्तूपाअगाडिको ट्याक्सी पार्किङमा चालक यात्रुको पर्खाइमा छन् । कोही गन्तव्यमा पुग्न हतारिएका छन् ।

बौद्ध, जोरपाटी, सिनामंगल, सेतोपुल, नयाँ बानेश्वर लगायतका क्षेत्रबाट मंगलबार राति उद्धार गरिएकाहरू । प्रहरीको सहयोगमा महानगरको टोलीले उनीहरूलाई उद्धार गरी खानेबस्ने व्यवस्थासहित राखेको छ । तस्बिर स् कान्तिपुर
सर्लाही स्थायी घर बताउने सुस्मिता अधिकारी भने स्तूपासँगैको सडक किनारास्थित घरको बरन्डामा १५ महिने छोरा च्यापेर निदाउन खोज्दै छिन् । रात छिप्पिँदै गएपछि सुनसान ठाउँको खोजीमा काखे बच्चा च्यापेर उनी सुरक्षित ठाउँको खोजीमा निस्किइन् । सडकछेउको घरको बरन्डालाई उनले सुरक्षित ठानिन् । कार्टुन र म्याटको टुक्रा ओछ्याइन् । सिरानीमा एक बोतल पानी र लाइटर राखिन् । साथमा ल्याएको पातलो ब्ल्यांकेट ओडिन् । ज्याकेट फुकालेर सिरानी हालिन् । छोराका लागि देब्रो हात सिरानी बनाइदिइन् । उनी झकाउनमात्रै के लागेकी थिइन्, प्रहरी सहितको टोलीले उनको निद्रा खलबल्याए । ‘दिदी’ भन्दै उठाउन टोली उनीतिर लम्कियो । पातलो ब्ल्यांकेट ओढेर सुतेका बालक पनि ब्युँझेर रुन थाले । उनी न प्रतिकार गर्न सक्थिन् न त कोठामा जान्छु भन्न सक्थिन् । भनून् पनि कसरी रु उनी सुत्केरी भएको १५ दिनदेखि श्रीमान् बेपत्ता छन् । बिहान अरूको घरमा भाडा माझ्ने र लुगा धुने काम गर्ने उनी राति भने सडकमै सुत्ने गरेकी छन् । श्रीमान्ले छाडेपछि उनको बास नै सडकमा हुने गरेको छ । ‘सीसी क्यामेरा भएको घरमा परेछ । मलाई पनि आज दशा लागेर त्यहीँ सुत्न पुगेछु,’ उनले भनिन् ।

प्रहरीसहित आएको काठमाडौं महानगरपालिकाको उद्वार टोलीले त्यहाँबाट उठाएर आश्रममा राख्ने बताए पनि सुम्मिता मञ्जुर छैनन् । ‘सडकमै रात कटाएर पनि परिश्रमले छोरा हुर्काउने, पढाउने इच्छा छ,’ उनले भनिन् । सडकमा सुत्नेको उद्धार गर्न पुगेका प्रहरी, काठमाडौं महानगरपालिका, मानव सेवा आश्रमको टोलीले उनी सुतेसँगैको घरबाट एक दम्पतीलाई उद्धार गरिसकेको थियो । उनीहरूलाई उठाउँदा श्रीमान्ले भने ओढ्ने र ओछ्याउने च्यापेरै अघि बढे । मुल सडकमा आएपछि नजाने भन्दै सडकमै बसे । उद्धारकर्मीलाई आपत् आइलाग्यो । टोलीले श्रीमान्लाई लगेपछि चाउचाउ र पानी च्यापेकी श्रीमतीले भनिन्, ‘हैन, हामीलाई कहाँ लैजान लागेको रु उहाँ अपांग हुनुहुन्छ ।’ ती पुरुषको हात समाउने प्रहरीले ‘अपांग भएकै कारण उद्धार गरेको’ जवाफ दिए । यति भन्दा पनि उनी अघि बढ्न चाहेनन् । ती महिलाले भने बौद्धमा आफ्नो घर भएकाले छाडिदिन बारम्बार आग्रह गरिरहिन् । उद्धार टोलीका एक सदस्यले सोधे, ‘घर भएको मान्छे किन सडकमा सुत्नुभएको त रु’ श्रीमतीले नजाने भनेपछि ती पुरुष सडकमै लम्पसार परे । तीन जना प्रहरीले उठाउन थालेपछि उनले अड्डी कसे, ‘म जाँदै जान्न, मलाई बरु यही मार ।’ तर, उनको ढिपी चलेन । प्रहरीले समाएर लगे । तर, उने ओढ्ने छाडेनन् । उनकी श्रीमतीलाई भने आश्रमकै एक महिलाले डोहोर्‍याउँदै गाडीमा राखिन् ।

गाडीभित्र छिरेपछि उनीहरू पानी पिउन थाले । उनकै छेउमा बसेकी थिइन्, अघिकी १५ महिने बच्चाकी आमा सुस्मिता । उनीहरूको सिट मिलाइरहेका प्रहरीलाई ती महिलाले भनिन्, ‘खास के गर्न खोजेको हो रु हामी सडकमा इच्छाले सुतेका । हामीलाई किन उठाएको रु’ प्रहरीले अब सडकमा सुत्न नमिल्ने सुनाए । तर, उनले कचकच गर्न छाडिनन् । यत्तिकैमा गाडी टोलीसहित जोरपाटीतिर हुइँकियो । जोरपाटी चोकमा दुई जना पुरुष मन्दिरमा सुतिरहेका थिए । एक जना बोराको सिरानी हालेर सुतेका, अर्काचाहिँ त्यतिकै बसिरहेका । उद्धार टोलीले सुतेका पुरुषलाई उठाए । ‘हेलो नमस्कार हजुर । हजुरको घर कहाँ हो रु’ भन्दै कुरा गरे । उनको घर रहेछ, रामेछाप । उद्धारकर्मीले सोधे, ‘सडकमा किन सुतेको रु’ तत्काल जवाफ फर्काए, ‘पैसा नभएर ।’ उद्धार टोलीले ‘हामीसँग पैसा छ, ल जाऔं’ भन्दै दुवैलाई गाडीमा राखे ।

यतिन्जेलसम्म बौद्धबाट मात्रै १४ जनाको उद्धार भइसकेको थियो । उद्धारको नेतृत्व गरेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेललाई काठमाडौंका प्रहरी वृत्त र प्रभागले सडकमा सुत्नेहरूको विवरण सेटमा जानकारी दिइरहेका थिए । प्रहरी सेटमा सिनामंगलमा दुई जना, भत्केको पुलमा १३ जना, सेतो पुलमा एक जना, कमलादी गणेश मन्दिरमा चार जना र बसपार्कमा तीन जना सडकमा सुतिरहेको जानकारी आयो । सिनामंगलको केएमसी अस्पतालभन्दा अलिअगाडि मकवानपुर हेटौंडाका कृष्णबहादुर भण्डारी सुतिरहेका थिए । ‘मिठो सपना देख्दै थिएँ, होहल्लाले ब्युँझायो । काम गरेर खाने मान्छेलाई किन उठाएको होला रु’ उनले उद्वारकर्तालाई प्रतिप्रश्न गरे, ‘भोलि कवाडी नपुगी हुँदैन, पैसा लिनुछ ।’ आफ्नो जीवनको झन्डै तीन दशक राजधानीको खुल्ला आकाशमुनि रात कटाएको उनले बताए । ‘कैयौं रात हिउँदरवर्षा यसैगरी बित्यो, यहीँ खुसी छु । बेकारमा सुतेको मान्छेको निद्रा बिगारिदियो,’ उनी गनगन गरिरहेका थिए । उद्धार टोलीले उनलाई जबरजस्ती उठायो । उनी सहजै गाडीमा आउन नमानेपछि टोलीले हातखुट्टा समाएर गाडीमा चढायो । उनको सम्पत्तिको नाममा एउटा झोला छ । दिनभर सिनामंगल आसपास फोहोरको थुप्रोमा कवाडी सामान बटुल्ने भण्डारी जब साँझमा सटरहरू बन्द हुन थाल्छन्, सहर शान्त हुन्छ, तब बासस्थानको खोजीमा लाग्छन् । बन्द सटरको कुनामा झोलाको सिरानी हाल्छन् र कम्बल ओढेर रात बिताउँछन् । ‘कहिलेकाहीँ कवाडीमै सुत्छु, धेरैजसो सडक किनाराको बन्द सटरबाहिरै रात बित्छ,’ साहित्यिक पारामा उनी बोले, ‘यही झोला मेरो सिंगो संसार हो, सहारा पनि यही ।’ परिवारबारे बताउन नचाहने उनी खुल्ला आकाशलाई घर सम्झन्छन् । उनको उद्धारपछि टोली आफ्नो मिसनमा लाग्यो ।

सिनामंगलको नोबल अस्पतालनजिक एउटा घरअगाडि तीन जना र अर्को घरको पेटीमा एक दम्पती सुतिरहेका थिए । त्यहीँ प्लास्टिक ओछ्याएर सहकर्मीसँग सडकपेटीमा पल्टिएकामध्ये थिए– तिलबहादुर राई । एकसरो कम्बल ओढेर कैयौं कठ्यांग्रिँदो रात कटाए उनले । तर, मंगलबार भने प्रहरीसहितको टोलीले उनलाई उद्धार गर्‍यो । रामेछाप उमाकुण्ड गाउँपालिका भुजीका तिलबहादुर मात्रको कथा होइन, समग्र सडकआश्रित बेसहाराको कथा उस्तै छ । तिलबहादुर र उनका सहकर्मी दिनभर ढलानको काम गर्छन् । रातभर खुल्ला आकाशमुनि रात कटाउँछन् । पुसको सिरेटोलाई उनीहरूले ओढेको एकसरो कम्बलले जिस्क्याइरहेको अनुभव गर्दै सडक आश्रितको उद्वारमा पुगेको टोलीले उनीहरूलाई त्यहाँबाट उठाएको हो । ‘यहाँ पत्नी, छोराछोरी भएकालाई त डेरा पाउँदैन, हामीलाई कसले दिन्छ र रु’ तिलकले भने । उद्धारमा खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलले कतिपय गति छाडेर सडकमा सुत्ने गरेको बताए । ‘सुरक्षित आवासमा लैजान पनि रिसाउने, हातपात र दुर्व्यवहार गर्ने र जान नमान्ने गरेका छन्,’ उनले भने, ‘उहाँहरू स्वतन्त्र रहन चाहनुहुन्छ । अनुशासनमा रहन चाहनुहुन्न । उहाँहरूको मानव जीवन बिताउन हामीले उद्धार गरेका हौं ।’ काठमाडौं महानगरपालिकाले सडकमा माग्ने र सुत्न नदिने निर्णय कार्यान्वयन गर्न प्रहरीसहितको टोली काठमाडौंका सडकमा राति र दिउँसो खटिने गरेको छ । बेसहारा भएकालाई उद्धार गरी खानेबस्ने व्यवस्थासहित उपचार गर्ने महानगरपालिकाले अठोट गरेको छ । बेसहारा, दिउँसो माग्न बस्ने, मदिराले लट्ठिएका र मजदुरी गर्ने तर कोठा नभएका व्यक्ति राति सडकमा सुत्ने गरेका छन् ।

टोलीले सिनामंगलमै अर्को एक दम्पतीको पनि उद्धार गर्‍यो । ‘नमस्कार’ भन्दै नम्र शैलीमा उनीहरूलाई उठाए । उनीहरूको सिरानीतिर थाल, चाउचाउ, अरू सामान देखिन्थ्यो । महिलाको अनुहार सुन्निएको देखेपछि टोलीले सोध्यो, ‘अनुहारमा के भयो रु’ महिलाले भनिन्, ‘लडेर यस्तो भयो ।’ दुवै मदिराले लठ्ठ थिए । मुस्किलले उनीहरूलाई गाडी चढाएपछि टोली अघि बढ्यो । सिनामंगल भत्केको पुलसँगै फलफूल पसलअगाडि १० जना एकै ठाउँमा भेटिए । कोही सुतिसकेका त कोही सुत्ने तरखर गरिरहेका । सबैलाई गाडीमा हाल्ने तयारी गर्दैगर्दा रुद्राक्षको माला लगाएका एक पुरुषले प्रहरीलाई उल्टै गाली गर्न थाले । एक गर्भवती महिला कामबाट आएको भन्दै बिलौना गर्न थालिन् । प्रहरीले उनीहरूलाई पनि उठाउन थालेपछि गर्भवतका श्रीमान् आक्रोशित भए, ‘ल छोएर हेर त, मेरो श्रीमती दुई जिउकी छिन् । केही होला रु पहिला कागज गर अनि मात्रै हामीलाई लैजाओ ।’ महिलाको अनुहारभरि घाउ थियो । श्रीमान्ले चिथोरेर घाउ बनाएको उनले सुनाइन् । टोली गाडीमा चढाएपछि कोही त डाँको छाडेरै रुन थाले । यहाँ भेटिएका सबैजसो मदिराले लठ्ठ देखिन्थे ।

सेतोपुल र बानेश्वरबाट समेत उद्धार गरेर टोली कमलपोखरीस्थित गणेश मन्दिर पुग्यो । उद्धार टोलीभन्दा अघि नै हामी पुगिसकेका थियौं । मन्दिरअगाडि मुल सडकछेउमा एक दम्पती भोक्टाले वरिपरि बारबेर गरेर सुतेका थिए । नजिकै अर्को एक जोडी मैलो ब्ल्यांकेट ओढेर सुतिरहेको थियो । सिरानीतिर एउटा ह्वील चियर पनि देखियो । उनीहरूको खुट्टातिर कुकुरहरू थिए । प्रहरी आएको थाहा पाएपछि उनीहरू सामान पोको पारेर भाग्न थाले । उनीहरूले आफू एचआईभी संक्रमित भएको जानकारी गराएपछि समात्ने आँट कसैले गरेनन् । नजिकका एक पुरुष भन्दै थिए, ‘यो जोडी दिउँसो अपांग बनेर ह्वील चियरमा बसेर पैसा उठाउँछ । राति यहाँ आएर सुत्छ ।’ उनीहरूलाई पनि उद्धार टोलीले जबरजस्ती गाडीमा लगेर राखे ।

साढे ८ बजेबाट सुरु भएको उद्धारकार्य साढे ११ बजे सकियो । मान्छे र गाडीको ओहोरदोहोर सुनसान भएको सडकमा भुस्याहा कुकुरले गणेश मन्दिरको टोलै थर्काइरहेका थिए । बौद्धबाट उद्धार गरिएकी सुस्मिता गाडीभित्रै १५ महिने छोरालाई स्तनपान गराइरहेकी थिइन् । बौद्धबाटै जबर्जस्ती गाडीमा राखिएका दम्पती एकअर्काको हात मुसारेर माया साटासाट गरिरहेका थिए । जति उद्धार गरिएका थिए, कहीँ न कहीँ चोट लागेको थियो । कोहीको खुट्टा जुत्ता थिएन । कोही मानसिक रोगी थिए । उनीहरूलाई काठमाडौं महानगर र प्रहरीको गाडीमा राखेर पौने १२ बजेतिर बालाजुको २२ धारा नजिकै वरिपरि पर्खाल लगाइएको चारतले भवन पुर्‍यायो । सडकबाट उठाउँदा चिच्याउने, उद्धार टोलीमाथि नै जाइलाग्नेहरू त्यहाँ पुग्दा भने शान्त भइसकेका थिए । मंगलबार रातिमात्रै ५० जनाको उद्धार गरी मानव आश्रममा लगिएको छ । आश्रममा उनीहरूका लागि चाउचाउ र चिया तयारी थियो । बस्नलाई कुर्सीको व्यवस्था थियो । सबैले चाउचाउ र चिया खाए । पुरुषलाई पहिलो तलाको हलमा लस्करै सुत्नेगरी व्यवस्थापन गरिएको थियो । सुत्न जानुअघि नाम, ठेगाना टिपेर उनीहरूको फोटो खिचियो । हलमा पुगेर पनि सिधै ओछ्यानमा जान पाइँदैनथ्यो । खुट्टा धुन्थे अनि बाक्लो कालो म्याटमा सुत्थे । अघिल्लो दिन उद्धार गरिएका तर आफन्त नभएका बेसहाराहरू भने डस्ना र बाक्लो ओढ्नेमा गुटमुटिइसकेका थिए । उनीहरूलाई नुहाएर कपाल काटेर सफाइ गरेपछि ओछ्यान दिइएको रहेछ ।

सडकबाट उद्धार गरेलगत्तै हरेकलाई ओढ्ने कालो ब्ल्यांकेट र रिसानी दिइन्छ । सडकबाट उठाइएका महिलालाई भुइँतलामै सुत्ने व्यवस्था मिलाइएको छ । एक महिला भने बाहिर चिच्याइरहेकी थिइन् । उनमा मानसिक समस्या भएको आश्रमका प्रदेश ३ इन्चार्ज सुमन बर्तौलाले बताए । आश्रमका स्वंसेवकहरू भने १२ बजेसम्म पनि सडकबाट उठाएकालाई चाउचाउ र चिया पकाइरहेका थिए । महानगरले मंसिर २९ मा ६३, ३० गते ४२ र मंगलबार ५० जनाको उद्वार गरेको थियो । आफन्त भएकालाई पुनर्मिलन गराउने र बेसहारालाई आश्रममा बस्ने व्यवस्था मिलाएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । ‘अब सडकमा कोही पनि भोकै बस्नु पर्दैन,’ उनले भने ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्