Logo

विद्युत् विस्तार बढ्यो, व्यवस्थापन सुध्रिएन



काठमाडौँ, ४ पुस । झापा सीमावर्ती रोङ गाउँपालिकादेखि भारतको दार्जिलिङस्थित सिंहलीला नेसनल पार्कसँग जोडिएको माईजोगमाईको तुम्लिङसम्म विद्युत् विस्तार भएको छ । माई नगरपालिकादेखि देउमाई नगरपालिकाको राँके हुँदै पाँचथरको रविसम्म पनि विद्युत् विस्तार भएको छ ।

यति धेरै क्षेत्रमा विद्युत् विस्तार भए पनि दुई मात्र सबस्टेसन छन् । एउटै सबस्टेसनमार्फत २ सय ५० किमिभन्दा धेरै क्षेत्रमा विद्युत् विस्तार गरिएको हो । हरेक ५० किमि क्षेत्रमा एउटा सबस्टेसन हुनुपर्ने प्राविधिक बताउँछन् । ‘यति ठूलो क्षेत्रमा एउटा सबस्टेसनले हेर्नुपर्ने भएपछि दुर्घटनाको जोखिम हुन्छ । गुणस्तरमा पनि कमी हुन्छ,’ विद्युत् प्राधिकरण इलाम शाखाका प्राविधिक तारा एक्तेनले भने । कतैको लाइन काटेर मर्मत गर्दा सम्बन्धित व्यक्ति सबस्टेसनमा आएर निवेदन दिनुपर्ने र मर्मतपछि पुनः सबस्टेसनमै आएर जानकारी गराउनुपर्ने प्रावधान छ । सुरुमा निवेदन दिएपछि काटिएको लाइन सम्बन्धित व्यक्ति आएपछि मात्र जोडिनुपर्ने हो । तर लामो प्रसारण लाइनका कारण त्यो सम्भव छैन ।

फोनको भरमा लाइन काट्ने र जोड्ने गर्दा पनि कतिपय अवस्थामा दुर्घटना हुने गरेको छ । विद्युत् उपयोग गरेर चलाइने उद्योगदेखि हरेक सामग्री सञ्चालनमा पनि कठिनाइ हुने गरेको छ । ‘सबस्टेसन थप गर्न माग गरिए पनि कार्यान्वयन हुन सकेको छैन,’ प्राधिकरण शाखा प्रमुख पंकज गोहितले भने । जिल्लामा ७० प्रतिशत विद्युत् वितरण भएको छ । स्थानीय सरकारसँगै प्रदेश र केन्द्र सरकारले पनि विस्तारको काम धमाधम गरिरहेका छन् । तर दुई सबस्टेसनमार्फत थप विद्युत् विस्तार गर्दा समस्या चुलिँदो छ । एउटै सबस्टेसनले लामो दूरीमा विद्युत् प्रवाह गर्दा घाटा पनि हुने गरेको छ । यसले प्राधिकरणलाई समस्यामा पारेको छ । काबेली करिडोरअन्तर्गत इलाम नगरपालिकाको गोदक राजदुवालीमा सबस्टेसन छ । यहाँ सञ्चालित आयोजनाको विद्युत् यो सबस्टेसनमा जोडिन्छ । आवश्यक विद्युत् इलाम र फिक्कल स्टेसनमा प्रवाह हुन्छ । जिल्लामा विद्युत् उत्पादन बढ्दै गएको छ । उत्पादनको तुलनामा खपत न्यून छ । तर पनि गुणस्तरीय नभएको गुनासो छ ।

इलामको उत्पादन क्षमता १ सय मेगावाट हाराहारी छ । केही विद्युत् योजना अझै निर्माणको क्रममा छन् । गोदक सबस्टेसन सञ्चालनपछि भने विद्युत् अवरोध भइरहने समस्या हटेको छ । आफ्नै उत्पादन भएकाले भारतबाट आएको विद्युत्भन्दा धेरै कारणले पटकपटक विद्युत् काटिने झन्झट हटेको प्राधिकरणको भनाइ छ । तर, लामो दूरीको ग्रामीण क्षेत्रमा विद्युत् विस्तार हुनु र सबस्टेसन कम भएकाले भने हावाहुरी चल्ने सिजनमा समस्या बढ्ने गरेको छ । कतिपय स्थानमा धेरै दिनसम्म विद्युत् अवरोध हुँदा उपभोक्ता मारमा पर्छन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्